
बागलुङ, ३ जेठ । बागलुङमा भएको प्रथम एसइइ कप फुटसल प्रतियोगिताको उपाधि म्याग्दीको बेनी सामुदायिक माध्यमक विद्यालयले जितेको छ ।
शनिबार सम्पन्ने फाइनल खेलमा आयोजक चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुललाई पेनाल्टी सुटआउटमा २–३ गोलले पराजित गर्दै बेनी सामुदायिक माविले उपाधि चुमेको हो । खेलमा पहिलो हाफ चिल्ड्रेन लाईफले अग्रता लिएपनि दोस्रो हाफमा बेनीले उत्कृष्ट पुनरागमन गर्यो ।
फाइनल खेलमा बेनी सामुदायिक माविका विपिन कार्कीले ह्याट्रिक सहित चार गोल गरेभने सुगम पाइजाले एक गोल गरेका थिए । चिल्ड्रेन लाईफको लागि निशान बुढाले ह्याट्रिक गरेभने सक्षम श्रेष्ठ र विशाल थापाले एक–एक गोल गरे ।
निर्धारित समयमा खेल ५–५ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा चिल्ड्रेन लाईफका सक्षम श्रेष्ठको प्रहार बेनीका गोलरक्षक अमित बुढाले बचाए ।
उपाधि जितेको बेनी सामुदायिक माविले नगद १५ हजार रुपियाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्योभने उपविजेता चिल्ड्रेन लाईफले नगद ८ हजार रुपियाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र गर्यो ।

चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुलको आयोजना र चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको सहआयोजनामा शुक्रबार र शनिबार भएको प्रतियोगितामा बागलुङ र म्याग्दीका १० विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बेनी सामुदायिकका अमित बुढा घोषित हुनुभयो । यस्तै उत्कृष्ट गोलरक्षक बेनीका सन्दिप केसी र प्रतियोगितामा १० गोल गर्नुभएका चिल्ड्रेन लाइफका निशान बुढा मगर सर्वाधिक गोलकर्ता घोषित हुनुभयो ।
विजेता खेलाडी र विद्यालयलाई जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी, चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठ, पत्रकार महासंघ बागलुङका सदस्य अर्जुन कार्की, प्रकाश बराल, बागलुङ जेसीजका अध्यक्ष सुसान्त कृष्ण श्रेष्ठ र नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका इन्जिनियर दिपक थापा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीले विद्यालयस्तरमा हुने प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो । चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा बागलुङ जेसीजका अध्यक्ष सुसान्तकृष्ण श्रेष्ठ र नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सदस्य अर्जुन कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षक रोहन जिसीले गर्नुभएको थियो ।








