गोरु काटिरहेको अवस्थामा सात जना पक्राउ

बागलुङ, ३ जेठ । बागलुङको बरेङ गाउँपालिकामा गोरु काटिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बरेङ गाउँपालिका वडा नं. २ खिरकटेरी निवासी ४१ वर्षीया सिता सार्की, ५५ वर्षीय मित्रलाल सार्की, ४२ वर्षीय मन बहादुर सार्की, ५३ वर्षीया जुना सार्की, ४६ वर्षीया कुमारी सार्की, ४१ वर्षीया सिता सार्की र १७ वर्षीय परिवर्तित नामथर २०८१/८२ बागलुङ ३३ रहेका छन् ।

बिहिबार सिता सार्कीको गोठ नजिकै गोरु काटिरहेको विशेष सूचना प्राप्तपछि इलाका प्रहरी कार्यालय बरेङडाँडा र प्रहरी चौकी सुडालाबाट खटिईएको प्रहरी टोलीले गोरु काटदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाण्डेले बताउनुभयो । उहाँले पक्राउ पर्नेहरुको साथबाट गोरु काट्न प्रयोग गरिएको बञ्चरो, हँसिया र चक्कु समेत बरामद गरीएको जानकारी दिनुभयो ।

गोरु काट्नेलाई पशुपंक्षी कसुर (गाई, गोरु मार्न वा कुट्न नहुने) अन्तर्गतको कसुरमा बागलुङ जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरी थपअनुसन्धान भइरहेको डिएसपि पाण्डेले बताउनुभयो । अपराध संहिता २०७४ को फौजदारी कसुर ऐनको परिच्छेद २७ मा पशुसम्वन्धीको कसुर गरेमा तीन वर्षसम्म कैद हुने ब्यवस्था छ ।