
बागलुङ, १ जेठ । गण्डकी प्रदेशकी कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जि.सीले प्रदेश सरकारले कृषि र पशुपालन क्षेत्रमा सहयोग गरिरहेको बताउनुभएको छ ।
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको २६ औँ स्थापना दिवसको उद्घाटन पछि बोल्दै मन्त्री जि.सी.ले किसानहरुको मुहारमा सधै हसिलो कायम हुनुपर्ने बताउनुभयो । उहाँले नेपाल कृषि प्रधान देश भएकोले किसानको मुहार सधै हसिलो हुनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री जिसीले कृषकहरुसँग कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल सधै साथमै रहेकोले केही समस्या आएमा जानकारी गराउन अनुरोध गर्नुभयो । मन्त्री जिसीले नेपालीको मुख्य पेशा कृषि रहेको बताउँदै युवाहरुलाई कृषि क्षेत्रमा जोड्न सकेमा विदेश पलायन रोक्न सहयोग पुग्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेशले किसानहरुको लागि स्थानीय तहसँग हातेमालो योजनाहरुमा साझेदार गर्न तयार रहेको मन्त्री जिसीको भनाई छ । ‘स्थानीय सरकारले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पतालसँग सरसल्लाह गरेर पालिकाको प्राथमिकताका आधारमा योजनाहरु छुट्टाएर नीति तथा कार्यक्रममा समावेश गर्नुहोस्,’ उहाँले भन्नुभयो,‘त्यसमा प्रदेश सरकार हातेमालो गर्न तयार छ । कृषकहरुको आर्थिक वृद्धि गराउन प्रदेश सरकार तयार छ ।’
साधारणसभाको उद्घाटन समारोहमा बागलुङ नगरपालिका उपा प्रमुख राजु खड्का, नेकपा माओ बादी केन्द्रका टीका बि.क., रास्वपाका खिमानन्द पौडेल, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवाल, जनस्वास्थ्य कार्यालय बागलुङ प्रमुख घनश्याम सापकोटा, कृषि बिकास बैक शाखा प्रमुख बिक्रम शर्मा, जिल्ला सहकारी संघ लिका अध्यक्ष हुमा कुमारी जि सी (अन्जु), जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष चण्डी प्रसाद शर्मा, जिल्ला बुहउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा कुँवर, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका उपाध्यक्ष सिर्जना पन्त र उपाभोक्ता मंचका अध्यक्ष शैलेन्द्र श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभामा उत्कृष्ट कारोबार गर्ने गाजा दुग्घ उत्पादन सहकारी संस्था लिमिटेड काठेखोला–८ लेखानी, संगम दुग्ध सहकारी संस्था लिमिटेड जलजला पर्वत, नमुना दुग्ध उत्पादन सहकारी संस्था काठेखोला गाउँपालिका–६ बिहुँ र कर्मचारी दुर्गा बहादुर खड्कालाई सम्मान गरिएको थियो ।
बागलुङ दुग्ध उत्पादक सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव गोविन्द सापकोटाले गर्नुभएको थियो ।










