प्रेस सेन्टर बागलुङले जिल्ला प्रशासन मार्फत बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

जिल्ला प्रशासन कार्यालय बागलुङमा ज्ञापन पत्र बुझाउँदै प्रेस सेन्टर बागलुङको टोली ।

बागलुङ, २८ वैशाख । प्रेस सेन्टर नेपाल जिल्ला शाखा बागलुङले विभिन्न १० बुँदे मागसहित जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

प्रेस सेन्टर नेपाल जिल्ला शाखा बागलुङका उपाध्यक्ष अनिष खाती र सल्लाहकार राजेशचन्द्र राजभण्डारी सहितको टोलीले आईतबार जिल्ला प्रशासन कार्यालय बागलुङका नायव सुब्बा रामप्रसाद उपाध्यायमार्फत ज्ञापन पत्र बुझाएको सचिव विनोद प्रतिकले जानकारी दिनुभयो ।

प्रेस सेन्टरले विश्वमा नेपालको प्रेस स्वतन्त्रता सूचक खस्किएको, सञ्चारसँग सम्बन्धित कानून निर्माणमा ढिलाइ भइरहेको, सञ्चार कानुन निर्माणका लागि प्रस्तावित भइ छलफल भइरहेका विधेयकका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने र स्वतन्त्र पत्रकारितामा बाधा पु¥याउने खालका रहको, पत्रकारको हत्या, आक्रमण, भौतिक तथा पेशागत असुरक्षा, प्रेस स्वतन्त्रता हननका घटनाको बढोत्तरी र निर्माणाधिन सञ्चारसँग सम्बन्धित कानुनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने कतिपय प्रावधानबाट प्रेस सेन्टर नेपाल चिन्तित र गम्भिर बनेको भन्दै ज्ञापनपत्र मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्रमा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्यामा संलग्न कथित राजावादी समूहका नाइकेहरुलाई कानूनी कारबाही गर्न र पत्रकार रजकलाई सहीद घोषणा तथा परिवारलाई उचित राहत प्रदान गर्न माग गरिएको छ । ‘कथित राजावादी समूहबाट विभिन्न सञ्चार गृहका सवारी साधन तोडफोड, विभिन्न सञ्चारकर्मीहरुमाथि भएको भौतिक आक्रमण, सञ्चार सामाग्री तोडफोडको घोर निन्दा गर्दै सञ्चार गृह र सञ्चारकर्मीहरुको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउँदछाँैँ’ ज्ञापन पत्रमा लेखिएको छ ।

साथै श्रमजीवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन गर्न र न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिक तत्काल लागू गर्न प्रेस सेन्टरले माग गरेको छ । कानून बन्ने र कार्यान्वयन नहुने अवस्थाको अन्त्यका लागि ऐनअनुसार तत्काल प्रेस रजिष्ट्रारको कार्यालय स्थापना र रजिष्ट्रार नियुक्त गर्न समेत ज्ञापन पत्र मार्फत प्रेस सेन्टरले आग्रह गरेको छ ।