काठेखोलाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

बागलुङ, २८ वैशाख । काठेखोला गाउँपालिकाले विपन्न ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

गाउँपालिकाले शुक्रबार ८० जना ज्येष्ठ नागरिकलार्इं टर्च लाइट वितरण गरी सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले वृद्ध आमाबुवाहरूलाई रातीको समयमा बाहिर भित्र गर्न सहजता होस् भन्ने हेतुले टर्च लाइट वितरण गरेको बताउनुभयो । उहाँले ८ वटै वडा कार्यालयलाई वडा भित्र रहेका विपन्न ज्येष्ठ नागरिक चयन गर्न लगाएर सम्मान गरेको बताउनुभयो ।

अध्यक्ष थापाले ज्येष्ठ नागरिकको सवालमा गाउँपालिकाले प्रथमिकता दिदै आएको बताउनुभयो । ‘गाउँपालिकाले ज्येष्ठ नागरिकको सवालमा प्राथमिकता दिँदै आएका छ,’ उहाँले भन्नुभयो,‘आगामी वर्षहरुमा पनि ज्येष्ठ नागरिकको माग अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउने छौं ।’

गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकप्रति सम्मान र कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले ज्येष्ठ नागरिकको योगदानको कदर गर्दै उनीहरूको जीवनस्तर उकास्न र सामाजिक एकीकरणमा जोड दिनुभएको थियो ।

काठेखोला गाउँपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर घर, घरमा पुगेर स्वास्थ्य परीक्षण गर्दै आएको छ ।

सोही अवसरमा ज्येष्ठ नागरिकका सवालमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा ज्येष्ठ नागरिकहरुले दिवा सेवा केन्द्र आवश्यक रहेको बताउनुभएको थियो । उहाँहरुले भजवनकिर्तनको लागि बाद्यबाद्यनका सामाग्रीको आवश्यकता रहेको, सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने माग राख्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा अधिवक्ता लक्ष्मी जि.सी. कार्की र काठेखोला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष बृहस्पति कँडेल ज्येष्ठ नागरिकका हकअधिकार, सम्मान, सामाजिक सुरक्षा, कानुन र पहिचानको बारेमा सहजीकरण गर्नुभएको थियो ।

सामाजिक विकास समितिका संयोजक खडक थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यपालिका सदस्य सुन्तली विकले स्वागत मन्तव्य र महिला तथा बालबालिका शाखाकी प्रमुख रश्मी गौतमले सञ्चालन गर्नुभएको थियो ।