
बागलुङ, २५ वैशाख । बागलुङको काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराले विपन्न (दलित) परिवारलाई विद्युतीय चुलो वितरण गरेको छ । वडाले पछि परेको समुदाय का तीन सय दलित परिवारलाई निःशुल्क विद्युतीय चुलो वितरण गरेको हो ।
नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजनाले वडाको योजनामा साथ दिएपछि चालु आर्थिक वर्ष २०८१/०८२ मा तीन सय परिवारका लागि निःशुल्क विद्युतीय चुलो वितरण गरेको वडाअध्यक्ष विद्यापति शर्माले बताउनुभयो । उहाँले ग्याँसको प्रयोग गर्दा देश बाहिर अत्याधिक रकम जाने हुँदा त्यसलाई रोक्न विद्युतीय चुलोको प्रयोगलाई वडाले जोड दिएको बताउनुभयो ।
खुल्ला बजारमा पाँच हजार पाँच सय पर्ने नेपाली उत्पादन कुलायन ब्राण्डको चुलो परियोजनाले ४ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएको थियो । परियोजनाले आफ्नो मुल्यमा विभिन्न दातृ निकायसँग सहकार्य गरेर ५० प्रतिशत अनुदान दिएको र बाँकी ५० प्रतिशत वडा कार्यालयले व्यवस्थापन गरेर निःशुल्क चुलो वितरण गरिएको शर्माले जानकारी दिनुभयो । चुलोको पावर सकेट र १ वटा पानी तताउने दिउरी स्थानीयले एक हजार रुपैयाँमा खरिद गरेका छन् ।
वडाअध्यक्ष शर्माले पहिलो चरणमा दलित विपन्न परिवारलाई चुलो वितरण गरिएको बताउँदै आगामी वर्ष सवै वडाबासीका घरमा विद्युतीय चुलो पु¥याउने लक्ष्य लिएको जानकारी दिनुभयो । ‘पहिलो चरणमा विपन्न र पछि परेको दलित समुदायका लागि निःशुल्क चुलो उपलब्ध गराइएको छ,’ वडाअध्यक्ष शर्माले भन्नुभयो,‘आगामी वर्ष सबै वडाबासीमा घरमा चुलो पुर्याउने लक्ष लिएको छ । यो कार्यक्रमलाई निरन्तर संचालन गछौं ।’
आजभोली प्रत्येक घरमा ग्याँस चुलोको प्रयोग भइरहेको र जसले गर्दा अत्याधिक रकम देशबाहिर गइरहेको वडाअध्यक्ष शर्माको भनाई छ । उहाँले विद्युतीय चुलो प्रयोग गर्दा विद्युतको महशुल देशमै रहने हुँदा देशभित्रको रकम बाहिर जान विद्युतीय चुलोले रोक्ने बताउनुभयो ।
विद्युतिय चुलो वितरण पूर्व नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजनाले वडाका घर घरमा पुगेर चुलोको प्रयोगका विधि, यसको फाइदा बेफाइदाका विषयमा सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । चुलो वितरणपछि त्यसको जडान, विद्युतिय प्वाइन्टहरुको जाँच लगायतका काम पनि परियोजनाले नै गर्ने परियोजनाको विद्युतिय चुलोका बागलुङ वितरक धौलागिरी मेसिनरी एण्ड टुल्स सप्लायर्सका प्रोपाईटर सूर्य गौतमले बताउनुभयो ।
नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजनाले बागलुङ जिल्लाका बिभिन्न संघ संस्था तथा स्थानीय सरकारसँग समन्वय गरेर दुई हजारभन्दा धेरै चुलो वितरण गरिसकेको जनाएको छ । दुई वर्ष मर्मत वारेण्टीसहित चुलोमा प्रयोग गरिने भाडावर्तन समेत परियोजनाले उपलव्ध गराउँदै आएको गौतमले बताउनुभयो ।









