ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार सवारीलाई कारवाही

बागलुङ, २१ वैशाख । बागलुङमा ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार बढी सवारी साधन कारवाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालु आर्थिक वर्ष २०८१÷०८२ को नौं महिनामा ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार ६ सय ६८ वटा सवारी साधनलाई कारवाही गरेको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रहरी हवल्दार बैकुण्ठ पौडेलका अनुसार साउन महिनामा ९ सय ७० वटा, भदौ महिनामा १ हजार १ सय ७४ वटा, असोज महिनामा १ हजार १ सय ८४ वटा, कार्तिक महिनामा १ हजार ७ सय ४५ वटा, मंसिर महिनामा १ हजार ६ सय ९६ वटा, पौष महिनामा १ हाजर ५ सय ३८ वटा सवारी कारवाहीमा परेका छन् । यस्तै माघ महिनामा १ हाजर ४ सय २१ वटा, फागुन महिनामा १ हजार ३ सय ८८ वटा र चैत महिनामा १ हजार ५ सय ५२ वटा सवारी साधनलाई कारवाही गरिएको पौडेलले जानकारी दिनुभयो ।

प्रहरी हवल्दार पौडेलले ट्राफिक नियम उल्लंघन गर्ने ट्रक, टिपर, बस, कार, जिप, ट्याक्टर, मोटरसाइकल र अन्य सवारी कारवाहीबाट नौं महिनामा १ करोड ४ लाख ६५ हजार रुपियाँ राजश्व संकलन भएको बताउनुभयो । उहाँले साउन महिनामा ८ लाख ४१ हजार रुपियाँ, भदौ महिनामा ९६ लाख ६ हजार रुपियाँ, असोज महिनामा ९ लाख ५८ हजार रुपियाँ र कार्तिक महिनामा १४ लाख ७ हजार रुपियाँ राजस्व संकलन गरिएको बताउनुभयो । कार्यालयले मंसिर महिनामा १४ लाख २७ हजार पाँच सय रुपियाँ, पौष महिनामा १२ लाख १२ हजार पाँच सय रुपियाँ, माघ महिनामा ११ लाख ७६ हजार रुपियाँ, फागुन महिनामा ११ लाख ७७ हजार पाँच सय रुपियाँ र चैत महिनामा १२ लाख ९९ हजार पाँच सय रुपियाँ राजस्व संकलन गरिएको जनाएको छ ।

पछिल्लो नौं महिनामा सवैभन्दा बढी मोटरसाइकल कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ५ हजार ५० वटा कार/जिप कारवाहीमा परेको र ४१ लाख ४७ हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको हवल्दार पौडेलको भनाई छ । कार्यालयका अनुसार नियम उल्लंघन गर्ने १ हजार १ सय ३३ वटा ट्रक÷टिपरबाट ९ लाख ६१ हजार पाँच सय रुपियाँ, ५ सय ९१ वटा बसबाट ४ लाख ८४ हजार पाँच सय रुपियाँ, ४ हजार ९ सय ६४ वटा मोटरसाइकलबाट ४१ लाख ८२ हजार पाँच सय रुपियाँ, ७ सय ७३ वटा ट्याक्टरबाट ५ लाख ६७ हजार रुपियाँ र १ सय ५७ वटा अन्य सवारी कारवाहीबाट १ लाख २२ हजार रुपियाँ राजस्व संकलन भएको छ ।

ट्राफिक प्रहरी कार्यालय बागलुङले नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाहीका साथै विद्यार्थी, सवारी चालक, व्यवसायी र सर्वसाधारणहरुलाई जनचेतनाका कार्यक्रमहरु समेत गर्दै आइरहेको छ ।