चैत्राष्टमी मेलाको खर्च ४८ लाख !

बागलुङ, १ बैशाख । चैते दशैंको अवसरमा बागलुङमा आयोजना गरिएको धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला–२०८१ मा ४८ लाख रुपियाँ बढी खर्च भएको छ ।

आयोजक बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलन गरेर मेलाको आयव्यय सार्वजनिक गरेको हो । गुठीका अध्यक्ष कुमार खड्काका अनुसार खेलामा ४८ लाख ६२ हजार तीन सय ३७ रुपियाँ खर्च भएको बताउनुभएको हो ।

मेलामा सवैभन्दा धेरै खर्च धार्मिक सम्मेलनमा भएको छ । सम्मेलनमा ८ लाख ९४ हजार छ सय ५० रुपियाँ खर्च भएको गुठीका अध्यक्ष खड्काले बताउनुभयो । यस्तै मेलाको अवधिमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको लागि ७ लाख १४ हजार पाँच सय रुपियाँ, कालिका कप खुल्ला भलिबल प्रतियोगितामा ७ लाख रुपियाँ, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा ६ लाख ५० हजार रुपियाँ र अतिथि सत्कारमा पाँच लाख ४४ हजार ७ सय ८४ रुपियाँ खर्च भएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

मेलामा ६२ लाख ७३ हजार पाँच सय रुपियाँ आम्दानी भएको अध्यक्ष खड्काको भनाई छ । उहाँले आम्दानी मध्य २३ लाख ४० हजार रुपियाँ उठन बाँकी रहेको बताउनुभयो । ‘गुठी संस्थान, सहआयोजक, प्रायोजकहरुबाट २३ लाख ४० हजार रुपियाँ उठन बाँकी रहेको छ,’ अध्यक्ष खड्काले भन्नुभयो,‘सम्पूर्ण रकम प्राप्त भएमा खर्च कटाएर १४ लाख ११ हजार एक सय ६३ रुपैयाँ बचत हुनेछ ।’

मेलाको लागि कालिका भगवती मन्दिरबाट २० लाख रुपियाँ, गुठी संस्थानबाट दश लाख रुपियाँ, रमाईलो मेलाबाट १० लाख रुपियाँ, प्रायोजकहरुबाट ११ लाख ८० हजार रुपियाँ, सहआयोजकहरुबाट तीन लाख रुपियाँ, स्टलबाट २ लाख ४० हजार रुपियाँ, आर्थिक सहयोग चार लाख ६० हजार रुपियाँ र स्टलबाट दुई लाख ४० हजार रुपियाँ प्राप्त भएको अध्यक्ष खड्काले बताउनुभयो ।

चैते दशैैंको अवसरमा कालिका भगवती गुठी व्यवस्थापन समितिले हरेक वर्ष ऐतिहासिक चैत्राष्टमी मेला संचालन गर्दै आएको छ । चतै दशैंमा बागलुङ कालिका भगवति मन्दिरमा दर्शन गर्न र स्थानीय उत्पादनहरु खरिद विक्रीको लागि सुरु भएको बेला अहिले व्यवसायिक बन्दै गएको छ ।