
बागलुङ, चैत २४ गते । बागलुङमा संचालित ऐतिहासिक चैत्राष्टमी मेलामा धवलागिरि बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो बर्षमा अध्ययनरत कमल पौडेल साथीहरुसँग मिलेर खाजा बनाएर बेचिरहेको भेटिन्छन् ।
कालिका भगवती मन्दिर परिसरमा रहेको कालिका बाल उद्यानमा संचालित मेलामा प्रवेश गर्दा दायापट्टी बिबिएस फास्ट फुड सेन्टर लेखिएको स्टल र बायाँ पट्टी मेलाको सचिवालयको आडमा विविए फास्ट फुड सेन्टर लेखिएको स्टलमा क्याम्पसको डे«ेसमा रहेका विद्यार्थीहरु विहानै देखि ग्राहकहरुलाई चिया, अन्डा, मःम, जुस, चटपट पु¥याउन तल्लिन देखिन्छन् । किताबमा पढेको कुरालाई व्यवहारमा अनुभव गर्न क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत विविएस तेस्रो वर्ष र विविए पाँचौं सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीहरुले मेलामा रेष्टुरेन्ट सहित फास्ट फुड सेन्टर संचालन गरेका छन् ।
मेलामा विद्यार्थीका दुई स्टलकर्ताबीच आफ्नोमा ग्राहक तान्ने एकखाले होडबाजी जस्तै पनि देखिन्छ । किचन र वेटरको मोर्चा सम्हाल्ने बाहेकका विद्यार्थीहरु बालउद्यान कार्यक्रमस्थल परिपरि र उद्यानको गेट बाहिर समेत पुगेर आफ्नो स्टल र सेवा बारेमा जानकारी समेत गराईरहेको भेटिन्छन् । विविएका विद्यार्थीले मेलामा स्टल संचालन गरेको दोस्रो पटक हो । उनीहरुले यसअघि बागलुङ महोत्सवमा पनि खाजा विक्री गरेका थिए । विविएसका विद्यार्थीको भने पहिलो अनुभव हो ।
क्याम्पसमा पढेका कुराहरुलाई व्यवहारमा उतार्नका लागि सहयोग पुग्ने भएकाले मेलामा स्टल संचालन गरिएको विविए पाँचौं समेस्टरकी टिम लिडर सुजाता शर्मा बताउनुहुन्छ । उहाँले पढाइ सकेपछि व्यवसाय गर्न सहज हुने उद्देश्यले मेलामा खाजा विक्री गरिएको बताउनुभयो । ‘हामी म्यानेजमेन्ट पढ्ने विद्यार्थी भोलीका दिनमा कलेज सकेर बजारमा जाँदा व्यवस्थापन कलामा सजिलो होस् भनेर यो काम थालेका छौं,’ उहाँले भन्नुभयो,‘मेलामा स्टल राख्दा धेरै सिक्ने मौका मिलेको छ । अहिलेसम्म घोकन्ते शिक्षा लिएका थियौं अब यसलाई व्यवहारमा प्रयोग गरेर हेरौं, आम मानिससँग डिल गर्न र व्यवसायिक रुपमा परिपक्क हुुन यसले सहयोग गर्ने विश्वास लिएका छौं ।’
विविएका विद्यार्थीहरुले आलु पकौडा, आलु चिप्स, चिकेन र भेज मःम, लस्सी, चिया, दुनोट, समोसा, चटपट, पानीपुरी, दही पानीपुरी लगायतका परिकार विक्री गरिरहेका छन् । विद्यार्थीहरुमा कम्युनिकेसन क्षमताको विकास गर्ने र स्वदेशमै लगानी गरेर व्यवसाय गर्नका लागि यसले सहयोग पुग्ने उनीहरुको विश्वास छ । विविए पाँचौ सेमेस्टरमा अध्ययन गर्ने २९ जना विद्यार्थीले जनही दुई हजारका दरले रकम संकलन गरी लगानी गरेर व्यवसायको सुरुवात गरेको शर्माले बताउनुभयो । यहाँले पहिलो र दोस्रो दिनमा राम्रै विक्री भएको बताउनुभयो ।
पहिलो पटक स्टल राखेर व्यवसाय गरिरहेका विविएस तेस्रो वर्षका विद्यार्थीहरुले व्यवस्थापन क्षमता विकासका लागि अभ्यास स्वरुप संचालन गरिएको बताउँछन् । टिम लिटर एलिना गौतमले किताबबाट सिकेको कुरा जीवनमा उर्तान र व्यवस्थापनको क्षमता परीक्षण गर्न स्टल राखिएको बताउनुभयो । ‘किताबबाट सिकेको कुरा जीवनमा उतारौं र म्यानेजमेन्ट स्कीलको परीक्षण गरौं भनेर स्टल संचालन गरेका हौं,’ उहाँले भन्नुभयो,‘छिटो छरितो तयार हुने परिकारहरुलाई प्राथमिकता दिएका छौं ।’
विविएसका १६ जना विद्यार्थीले जनही तीन हजार रुपैयाँका दरले लगानी गरेर स्टल संचालन गरेको जनाए । मेलामा बुधबार र बिहिबार राम्रो व्यापार भएको टिम लिटर शर्माले बताउनुभयो ।
बिबिएस फास्ट फुड सेन्टरको पहिचानको रुपमा नेवारी परिकार योमरीलाई राखिएको छ । टिम लिटर शर्माले साथीको आमालाई बनाइदिन भनेर यमोरी स्टलमा राखिएको बताउनुभयो । ग्राहकहरुलाई केही फरक परिकार खुवाउने सोचका साथ यमोरीलाई रोजेको उहाँको भनाई छ । यमोरी सहित विविएसको स्टलमा मःम, चटपट, पानीपुरी, पकौडा, सेलरोटी लगायतका परिवार बनाएर विक्री गरेका छन् ।
मेलामा बिक्री वितरणसँगै ग्राहकसँग कसरी घुलमिल हुने, ग्राहकको रोजाई लगायत विभिन्न पक्षमा जानकारी लिने अवसर मिलेको विद्यार्थी विविएसका पौडेलको भनाई छ ।
विद्यार्थीहरुलाई व्यवसाय संचालन गर्न मेला आयकेजक कालिका भगवती गुठी व्यवस्थापन समितिले दुई वटा स्टल निःशुलक उपलब्ध गराएको अध्यक्ष कुमार खड्काले बताउनुभयो । विद्यार्थीहरु उद्यम यात्रामा लाग्ने भएपछि आयोजकले क्याम्पसको विविएस र विविएका विद्यार्थीलाई दुई वटा स्टल निःशुल्क उपलब्ध गराएको अध्यक्ष खड्काको भनाई छ ।
विद्यार्थीले सञ्चालन गरेका स्टल अबलोकन गरेका सहायक क्याम्पस प्रमुख हिरालाल रेग्मीले विद्यार्थीमा व्यवस्थाकीय कला र आम व्यक्तिहरुसंग डिल गर्ने क्षमताको विकास हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले क्याम्पसबाट उत्पादन गरेको जनशक्तिले बजारको माग पूरा गरुन् र बजारले उनीहरुलाई सहज रुपमा लियोस् भन्दै विद्यार्थीहरुले यसरी फिल्डमै खटिएर काम गर्दा त्यो सीपको विकास हुनेछ र भोलीको दिनमा उनीहरुलाई सहज हुनेछ भन्ने विश्वास राख्नुभयो ।
बागलुङमा वर्षको अन्तिम चाड चैते दशैंको अवसरमा संचालन हुँदै आएको ऐतिहासिक मेला यस वर्ष चैत २५ गतेसम्म संचालन हुनेछ ।









