कालिका कप महिला भलिबलको उपाधि एसएसवाइसीलाई

बागलुङ, २१ चैत । कालिका कप खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि एसएसवाइसी मंगला गाउँपालिकाले जितेको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङद्वारा आयोजित धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला २०८१ मा आयोजना गरेको प्रतियोगिताको बिहिवार सम्पन्न फाइनल खेलमा एसएसवाइसीले ग्रेस इन्टरनेशनल बागलुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

पहिलो सेट २५–१३ मा जितेको एसएसवाइसीले दोस्रो सेटमा प्रतिस्पर्धात्मक बनेपनि २५–२२ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट एसएसवाईसीले २५–१४ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्यो ।

उपाधि जितेको एसएसवाइसीले ८० हजार रुपैयाँ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र र उपविजेता ग्रेसले ४० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

मेलामा अयोजना गरिएको कालिका कप खुल्ला महिला प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो । मेलामा पालिकास्तरीय खुल्ला भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने आयोजकले जनाएको छ ।

परम्परागत रुपमा हरेक वर्ष हुँदै आएको चैत्राष्टमी मेला यस वर्ष चैत्र २० गतेदेखि २५ गतेसम्म आयोजना गरिएको छ ।