पत्रकारको सुरक्षाको माग गर्दै ध्यानकर्षण पत्र

बागलुङ, चैत १८ गते । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले सञ्चारकर्मीको सुरक्षाको माग गरेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हानमा सोमबार बागलुङ शाखाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानकर्षण गराएको छ । पत्रकार महासंघ बागलुङ शाखाका उपाध्यक्ष सुवास आचार्य सहितको टोलीले प्रजिअ कुमान सिंह गुरुङलाई ध्यानकर्षण पत्र हस्तान्तरण गरेको हो ।

ध्यानाकर्षण पत्र बाचन गर्दै पत्रकार महासंघ बागलुङका उपाध्यक्ष आचार्यले महासंघले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले सञ्चार माध्यम र सञ्चारकर्मीलाई निशाा बनाएको सरकारलाई अवगतै भएको बताउँदै उक्त घटनाप्रति पत्रकार महासंघ गम्भीर भएको बताउनुभयो ।

महासंघका सचिव नारायण रिजालले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा शुक्रबार भएको घटनामा ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानूनी कठघरामा ल्याउन तथा क्षति पु¥याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन महासंघ जोडदार माग गर्दछ उल्लेख गरिएको छ ।

पत्रकार महासंघ बागलुङले विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का घटनामा संलग्नलाई तत्काल कानूनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारसमक्ष माग गरेको छ ।

ध्यानकर्षण पत्रमा माग एक साताभित्रै सम्बोधन हुने विश्वासनीय आधार निर्माण गर्न प्रमुख जिल्ला अधिकारी मार्फतन नेपाल सरकार समक्ष आग्रह गर्दै माग पुरा नभए महासंघ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुने उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा ध्यानकर्षण पत्र बुझाउन पत्रकार महासंघ जिल्ला शाखाका पदाधिकारी, पूर्वअध्यक्ष तथा क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।