
अर्जुन कार्की
बागलुङ, चैत ७ गते । बागलुङमा माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ३७ जना परीक्षार्थी अनुपस्थित भएका छन् । परीक्षाको पहिलो दिन नियमिततर्फ ३७ जना विद्यार्थीहरु अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाई बागलुङका प्रमुख प्रकाश बन्धु अर्यालले बताउनुभयो ।
परीक्षामा जिल्लाका १ सय ५६ विद्यालयका विद्यार्थीहरु सहभागी भएका छन् । ४ हजार ९९० परीक्षार्थी मध्य पहिलो दिन ४ हजार ९ सय ५३ जना विद्यार्थीले मात्र परीक्षामा सहभागी भएका छन् ।
जिल्लाका दश स्थानीय तहको ३१ परीक्षा केन्द्रमा संचालित परीक्षामा पहिलो दिन २८ परीक्षा केन्द्रमा ३७ जना विद्यार्थी अनुपस्थित भएका हुन् । प्रमुख अर्यालका अनुसार पहिलो दिन बागलुङ नगरपालिका वडा नं. ९ को तित्याङ मावि, बरेङ गाउँपालिका वडा नं. २ को सर्वोदय माध्यमिक विद्यालय र जैमिनी नगरपालिका वडा नं. १ को शान्ति माविको परीक्षा केन्द्रमा मात्र सवै परीक्षार्थीहरु उपस्थित भएको बताउनुभयो ।

यस वर्ष एसइईमा सहभागिताका लागि बागलुङमा नियमित साधारण तर्फ ३ हजार ७ सय ९८ जना र नियमित प्राविधिक तर्फ २ सय ४७ जना परीक्षार्थीले फारम भरेका थिए । यस्तै ग्रेडवृद्धि साधारण तर्फ ८८१ जना, ग्रेडवृद्धि प्राविधिक तर्फ १९ जना र पुरानो ग्रेडवृद्धि (२०७८/०७९) तर्फ ४५ जना परीक्षार्थीले फारम भरेको प्रमुख अर्यालले बताउनुभयो ।
परीक्षा सञ्चालनको लागि बागलुङ जिल्लाभर ३१ जना केन्द्राध्यक्ष, ५० जना सहायक केन्द्राध्यक्ष, २ सय ६० जना निरीक्षक, ६३ जना परीक्षा सहायक, १ सय १४ जना कार्यालय सहयोगी र ४ सय ६५ सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख अर्यालले बताउनुभयो ।
जिल्लामा पहिलो दिन शान्त वातावरणमा मर्यादित रुपमा परीक्षा भएको ।









