जंगलबाट सुरु भएको आगलागीले दुई घर जले

बागलुङ, ४ फागुन । बागलुङमा आगलागीबाट दुई घर जलेका छन् । बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरमा सोमबार जंगलबाट सुरु भएको आगो गाउँमा पस्दा पात्लेखेतका दुई घर आगलागीमा परेका हुन् ।

आगलागीबाट पात्लेखेतका निलप्रसाद रेग्मी र डण्डपाणी रेग्मीको घर सबै जलेको हो । घर जल्दाजल्दै स्थानीयले आगो नियन्त्रणमा लिएको वडासदस्य रुद्र पुलामीले बताउनुभयो । ‘स्थानीयहरु मिलेर घरमा लागेको आगो नियन्त्रणमा लिइएको छ,’ वडासदस्य पुलामीले भन्नुभयो,‘जंगलमा आगलागी भैरहेको छ । नियन्त्रणमा लिनको लागि स्थानीयहरु मिलेर प्रयास गरिरहेका छौं ।’

आगलागीले निलप्रसादको घरमा रहेका लत्ता कपडा, खाद्यान्न, नगद लगायत सवै संरचना आगोले खरानी पारेको वडासदस्य रुद्र पुलामीले बताउनुभयो । उहाँले क्षतीको विवरण संकलन नभएको बताउनुभयो ।

दिउँसो १ बजेदेखि जंगलमा सुरुभएको आगो तीनबजे बस्तीमा पसेको थियो । बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको सिमानामा रहेको जंगल क्षेत्रबाट सुरुभएको आगलागी चारैतर्फ फैलिएको छ । आगो निरन्तर चारै तिरका बस्ती तर्फ फैलिएकाले जोखिम कायम रहेको वडासदस्य पुलामीले बताउनुभयो ।

गाउँमा जनशक्ति कम भएकोले नियन्त्रणमा लिन गाह्रो भइरहेको पुलामीले बताउनुभयो । ‘गाउँमा जनशक्ति कम छ, भएका बुढाबुढी र केटाकेटी घरमै आगो आईसक्दा समेत निभाउन सक्ने हुनुहुन्न,’ पुलामीले भन्नुभयो,‘नजिकमा प्रहरी चौकी नहुँदा क्षती ठुलो व्यहोर्नु परेको छ ।’ अहिलेसम्म आगलागीका कारण मानविय तथा पशुधनको क्षती भने भएको छैन् ।