
बागलुङ, २१ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रशिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरको बुधबार दर्शन गरेका छन् ।
धार्मिक यात्राको लागि बागलुङ आएका पूर्वराजा शाहले कालीका भगवती मन्दिरमा पुजाआराधना गरेका हुन् ।
नेपालको प्रमुख शक्तिपीठ बागलुङ कालीका भगवती मन्दिरको दर्शन गर्न पूर्वराजा शाह बागलुङ आउने कार्यक्रम तय भएको हो । धार्मिक यात्राको लागि बागलुङ आउँदै गरेका पूर्वराजालाई स्वागत गर्नको लागि जब्बर बहादुर लामिछानेको संयोजकत्वमा ५ सय १ सदस्यीय नागरिक स्वागत मुल समारोह समिति गठन गरिएको छ ।
पूर्वराजा शाहले मन्दिरमा १५ मिनेट पुजाआजा गरेको कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । कालिका भगवती मन्दिरका मुख्य पुजारी जय बहादुर खड्काबाट पूर्वराजा शाहले पुजाआजा पछि प्रसाद ग्रहण गरेका थिए ।
पूर्वराजा शाहलाई बागलुङमा नागरिक स्वागत मुल समारोह समितिबाट स्वागत गरिएको थियो । शाह आउने भएपछि राजाप्रति आस्थावान नागरिकहरुले जब्बरबहादुर लामिछाने संयोजकत्वमा स्वागत मुल समारोह समिति गठन गरेर तयारी गरेका थिए । मन्दिरमा पुजा अगाडी र पुजाआराधनापछि पूर्वराजा शाहलाई स्वागत र सम्मान गरिएको थियो ।
बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । मन्दिरमा देशभरीका दर्शनार्थीहरु र छिमेकी मुलुक भारतबाट पनि हजारौं दर्शनार्थी आउने गर्दछन् । मन्दिर पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग १५९१ मा गरिदिएपछि छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएको र कालीगण्डकी नदी किनारमा विधिपूर्वक स्थापना गरेको इतिहास रहेको अध्यक्ष खड्काले बताए ।
बागलुङ कालिकाप्रति विश्वास राखी विभिन्न मनोकामना लिएर आउने भक्तजनहरुको मनले चिताएको कुरा पुग्छ भन्ने विश्वास रहँदै आएको छ । मन्दिरको दर्शन गर्न जानेहरु विशेष गरी पुत्र नहुनेलाई पुत्रफल, सन्तान नहुनेलाई सन्तान, विवाह नभएकोलाई उचित बरवधु, परीक्षामा सफलता मिल्ने विश्वास रहँदै आएको छ ।
कालिका भगवती मन्दिरमा बर्षको दुई पटक चैते दशैं र वडा दशैंमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । मन्दिरमा माघ र साउन महिना बाहेक वर्षभरी नै दर्शनार्थीको चहलपहल हुने गर्दछ । मन्दिरमा प्रत्येक मंगलबार, शनिबार र अष्टमी लगायत विभिन्न तिथीहरुमा भक्तजनहरुको बढी भिड् लाग्ने अध्यक्ष खड्काले बताए । माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने हुनाले यी दुई महिनामा दर्शनार्थीहरुको भीड कम हुने गरेको अध्यक्ष खड्काको भनाई छ ।