विभागीय टिम श्रीमेहर गणको फराकिलो जित

बागलुङ, २० फागुन । तेस्रो संस्करणको जेसीज कप फुटबल प्रतियोगितामा साविक उपविजेता श्रीमेहर गणले रुद्रेपिपल युवा क्लबलाई फराकिलो गोलअन्तरले पराजित गरेको छ ।

मदन लिम्बुको ह्याट्रिकको मद्धतमा विभागीय टिम श्रीमेहर गणले रुद्रेपिपललाई ७–० गोलअन्तरले पराजित गरेको हो । मंगलबार भएको पहिलो खेलमा श्रीमेहरका लागि मदन लिम्बुले ४, विकास मगर, किसान राई र मविन तुम्बाफेले समान १–१ गोल गरेका थिए ।

मदन लिम्बुले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै श्रीमेहरलाई अग्रता दिलाएका थिएभने उनले नै खेलको १२ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । विकास मगरले खेलको २१ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा श्री मेहरलाई ३ गोलको अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवातमा केही सुधारिएको खेल प्रस्तुत गरेको रुद्रेपिपलको लागि दुई प्रहार गोलपोष्टमा लागेर बाहिरियो । श्रीमेहरको लागि खेलको ६८ औं मिनेटमा किसान राईले गोल गर्दै टिमलाई फराकिलो अग्रता दिलाए । खेलको ६९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका मदनले ७७ औं मिनेटमा गोल पुनः गोल गर्दै फराकिलो जित सुनिश्चित गरेका थिए । श्रीमेहरको लागि मविन तुम्बाफेले ७८ औं मिनेटमा गोल गरे । श्रीमेहरले बिहिबार बलेवा एफसीसँग सेमिफाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछ ।

बागलुङ जेसीजको आयोजितामा संचालित प्रतियोगितामा आज दिउँसो पर्पल हेज/एभिएमविरुद्व बागलुङ एकता क्लब विच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष श्रेष्ठले बताउनुभयो । यस्तै प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्भने अनुशासित टिमले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत तर्फ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षकले नगद ५–५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्भने प्लेयर अफदी म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।