
बागलुङ, १८ फागुन । बागलुङमा तेस्रो संकरणको जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ ।
बागलुङ जेसीजको आयोजनामा आईतबारदेखि तेस्रो जेसीज कप प्रतियोगिता हुन लागेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा नवप्रतिभा खेलाडीको पहिचानसँगै खेलकुद मार्फत बागलुङको पर्यटन क्षेत्रमा टेवा पु¥याउने उद्देश्यले फागुन १८ देखि २४ गतेसम्म प्रतियोगिताको आयोजना गरिएको जेसीज बागलुङका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले प्रतियोगिताको पहिलो दिन आईतबार ट्रफी अनावरण सहित उत्कृष्ट कार्यक्रम गरिने बताउनुभयो । प्रतियोगिताका खेलहरु सोमबारदेखि संचालन गरिने उहाँको भनाई छ ।
जेसीजले यस वर्ष वातावरण संरक्षणको सन्देश दिन ‘गोल ग्रिनः स्कोर फर ग्रिनर नेपाल’को नारालाई अंगीकार गर्दै ‘एक गोल, एक वृक्ष’, ‘एक खेलाडी, एक वृक्ष’ र ‘एक सदस्य, एक वृक्ष’ अभियान संचालन गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले प्रतियोगिताबाट हुने मुनाफाको केही हिस्सा वातावरण संरक्षण कार्यमा लगानी गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा ११ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेश भित्र दर्ता भएका ११ वटा क्लबहरुले सहभागिताको लागि टिम दर्ता गराएको बताउनुभयो । उहाँले प्रतियोगितामा क्लबहरुले तीन जना विदेशी खेलाडीहरु राख्न पाउने बताउनुभयो । ‘एक वटा क्लबले तीन जनासम्म विदेशी खेलाडीहरु राख्न पाउछन्,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो,‘दुई जनासम्म विदेशी खेलाडीहरु खेलाउन पाउने र एक जना वैकल्पीकको रुपमा राख्नुपर्ने छ ।’
प्रतियोगितामा साविक विजेता बागलुङ सुधार केन्द्र र पहिलो संकरणको विजेता नेपाल आर्मीको श्रीमेहर गण सहित बलेवा एफसी, हाइकर्स युनाइटेड, रुद्रेपिपल युवा क्लब, गुठी युनाईटेड, म्याग्दी जिल्ला फुटबल संघ, पर्पल हेच÷आदर्श विद्यामन्दिर, बागलुङ युनिटी क्लब, अमर आदर्श र जिल्ला प्रहरी कार्यालय बागलुङको टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको पहिलो खेल सोमबार बलेवा एफसी र हाइकर्स युनाइटेड विच हुने महासचिव सुलभ खड्काले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । यस्तै प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्भने अनुशासित टिमले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत तर्फ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षकले नगद ५–५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्भने प्लेयर अफदी म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।
प्रतियोगिता सम्पन्न गर्नको लागि १२ लाख खर्च हुने अनुमान गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले प्रतियोगिताको टाइटल स्पोन्सर आईएमई ग्रुप सहित स्थानीय सरकार, व्यापरिक प्रतिष्ठान, खेलकुद तथा विभिन्न सामाजिक संघसंस्था, बैंक तथा वित्तिय संस्थाहरुबाट सहयोग प्राप्त भएको र हुने क्रम जारी रहेको बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले प्रतियोगिता संचालनको क्रममा हुनेसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै नेको इन्स्युरेन्स प्रालिले खेलाडीको १ लाखको दुर्घटना बीमा गरिदिने बताउनुभयो ।