
बागलुङ, १६ फागुन । नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले ४३ औं मगर दिवसको अवसरमा आयोजना गरेको लखन कप खुला वडास्तरीय भलिबलको उपाधि ए एण्ड ए मार्ट गलकोटले जितेको छ ।
गलकोट नरेठाँटीको उक्त टिमले पकुवा भलिबल पर्वत कुस्मालाई सोझो सेटमा पाखा लगाउँदै लखक कप भलिबलको उपाधि जितेको हो । पहिलो सेट २५–२२ ले जितेको नरेठाँटीले दोस्रो २६–२४ ले जित्यो ।
तेस्रो सेटको प्रतिस्पर्धा २१–१९ को स्थीतिमा चलिरहँदा पकुवा भलिबले रेफ्रीको निर्णयप्रति असहमति जनाउँदै खेल वाक ओभर दियो । उपाधि नरेठाँटीले जित्यो ।
उपाधि जितेको नरेठाँटीले नगद ८१ हजार एक सय ८१ रुपैयाँ मेडल ट्रफी र प्रमाणपत्र जितेको छ । दोस्रो स्थानमा चित्त बुझाएको पकुवा भलिबलले नगद ४१ हजार एक सय ४१ रुपैयाँ मेडल ट्रफी र प्रमाणपत्र पाएको छ । बिहीबार बिहान भएको सेमिफाईनल खेलमा नरेठाँटीले तंग्राम भलिबल र पकुवा भलिबलले अनुशा एण्ड स्मीत रेष्टुरेन्टलाई पराजित गर्दै फाईनल यात्रा तय गरेका थिए ।
उक्त अवसरमा आयोजना गरिएको पुरुषतर्फ छेलो फाल्ने प्रतियोगितामा दुजिक थापा मगर प्रथम र बलबहादुर आले द्वितीय भएका छन् । प्रथम भएका दुजिकले नगद ८ हजार र द्वितीय भएका बलबहादुरले नगद ४ हजार रुपैयाँ प्राप्त गरे ।
महिला छेलोतर्फ भिममाया पुन प्रथम र विष्णु पुन द्वितीय भए । भिममायाले नगद पाँच हजार रुपैयाँ र विष्णुले नगद दुई हजार पाँच सय रुपैयाँ प्राप्त गरिन् ।
महिलातर्फ रस्साकस्सी प्रतियोगितामा विष्णु पुनको समुह प्रथम र बडिगाड द्वितीय भए । पुनको समुहले नगद चार हजार र बडिगाडले नगद दुई हजार रुपैयाँ प्राप्त गरेका छने । यस्तै पुरुषतर्फ रस्साकस्सी प्रतियोगितामा भगवती रोड समुह प्रथम र कुलबहादुर रानाको समुह द्वितीय भए । विजेता भगवती रोड समुहले नगद पाँच हजार रुपैयाँ र उपविजेता कुल बहादुररानाको समुहले नगद तीन हजार रुपैयाँ प्राप्त गरेका छन् ।