दोस्रो फ्युचर कपको उपाधि न्यू ओएसिसलाई

बागलुङ, १० फागुन । बागलुङमा भएको दोस्रो संस्करणको फ्युचर कप अन्तरविद्यालय स्तरीय कक्षा ७ फुटसल प्रतियोगिताको उपाधि न्यू ओएसिस एकेडेमीले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा न्यू ओएसिसले गरिमा आवासिय माध्यमिक विद्यालयलाई ४–१ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । पहिलो हाफ १–१ गोलको बारबरीमा सकिएपनि दोस्रो हाफको सुरुवातदेखि आक्रमक खेल खेलेको न्यू ओएसिसले थप ३ गोल गर्दै ४–१ गोलअन्तरले विजयी भयो ।

उपाधि जितेको न्यू ओएसिसले १२ हजार र उपविजेता गरिमाले ६ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै विधागत पुरस्कारमा न्यू ओएसिसका खेलाडीहरुले बाजी मारेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यू ओएसिसका सक्षम के.सी, उत्कृष्ट गोलरक्षक सिमान्त सापकोटा र सर्वाधिक गोलकर्ता प्रतियोगितामा ५ गोल गरेका दिप्लब छन्त्याल घोषित भए । उनीहरुले ट्रफी प्राप्त गरेका थिए ।

फ्युचर ब्राइटर आवासिय माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा बागलुङ नगरपालिका भित्रका १९ विद्यालयका २९ टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका विजेता र उपविजेता खेलाडी र विद्यालयलाई बागलुङ नगरपालिका वडा नं. २ का वडाअध्यक्ष सुरज बोसेल, फ्युचर ब्राइटर आवासिय माध्यमिक विद्यालयका संस्थापक तथा प्रिन्सिपल बालकृष्ण शर्मा, एनप्याब्सन बागलुङका अध्यक्ष नेत्र न्यौपाने, एनप्याब्सन गण्डकी प्रदेशका सदस्य निशान खड्का लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिताको समापन समारोहमा बोल्दै वडा बोसेलले अभिभावकले आफ्ना बालबच्चालाई डाक्टर, पाइलट मात्र नभइ खेलाडी पनि बनाउने सोच राख्नुपर्ने बताउनुभयो । उहाँले खेलाडीले देशको नाम राख्दै आफ्नो भविश्य पनि बनाउन सक्ने बताउँदै खेलकुदमा रुचि भएका बालबालिकाहरुलाई खेलमा लाग्न दिनुपर्नेमा जोड दिनुभएको थियो ।

वडाअध्यक्ष बोसेलले खेलकुदबाट विद्यार्थीहरुलार्इं अनुशासन र प्रतिस्पर्धा पनि सिकाउन सकिने बताउँदै सानै उमेरबाट प्रशिक्षण दिएमा भविश्यमा उत्कृष्ट खेलाडी बन्न सक्ने बताउनुभयो ।

कार्यक्रममा एनप्याब्सन बागलुङ नगरका अध्यक्ष चन्द्र रिजाल, एनप्याब्सन गण्डकी प्रदेशका सदस्य निशान खड्का र नेपाल पत्रकार महासंघ बागलुङका सदस्य संगम घर्तिमगरले शुभकामना मन्तव्य व्यत्त गर्नुभएको थियो । फ्युचर ब्राइटर आवासिय माध्यमिक विद्यालयका संस्थापक तथा अध्यक्ष बालकृष्ण शर्माको अध्यक्षता तथा स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको संचालन शिक्षक टिकाजित बहादुर पुनले गर्नुभएको थियो ।