बागलुङमा मनाइयो ७५ औँ प्रजातन्त्र दिवस

सुजन रेग्मी
बागलुङ, ७ फागुन । बागलुङमा ७५ औँ प्रजातन्त्र दिवस मनाइएको छ ।

२००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएपछि नेपाली जनता रैतीबाट नागरिक बनेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

बागलुङ बजारको एतिहासिक पार्क (विरेन्द्र एश्वर्य पार्क)मा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य चित्र बहादुर के.सीले सम्बोधन गर्नुभएको थियो । केसीले मुलुकमा जनताले दुःख गरेर ल्याएको लोकतन्त्र र गणतन्त्रमाथि कालो बादल मडारिएको बताउनुभयो । उहाँले केही प्रतिगामी तत्वकै कारण जनताले लडेर ल्याएको परिवर्तनमा नै समस्या उत्पन्न भएकोमा चिन्ता व्यक्त गर्नुभयो । ‘जनताले लडेर यो परिवर्तन ल्याएका हुन्,’ उहाँले भन्नुभयो,‘मुलुकमा जनताले दुःख गरेर ल्याएको लोकतन्त्र र गणतन्त्रमाथि कालो बादल मडारिएको छ । केही प्रतिगामी तत्वकै कारण जनताले लडेर ल्याएको परिवर्तनमा समस्या उत्पन्न भएको छ ।’

केसीले सत्ता र शक्तिमा बस्नेले नराम्रो गरेपनि उनीहरुलाई सजाय दिनका निम्ती लोकन्तत्र आवश्यक रहेको समेत बताउनुभयो । उहाँले देशमा अहिलेका हरेक परिवर्तन कसैले दिएको बकस नभइ जनताले नै संघर्ष गरेर ल्याएको बताउँदै सत्ता र शक्तिका लागि विभिन्न नेता आउने जाने भएतापनि जनता आफुहरुले ल्याएको परिवर्तनमा ज्ञाता भएको दाबी गर्नुभयो । उहाँले लोकतन्त्र र गणतन्त्रलाई संकटमा पर्न नदिन जनतालाई आग्रह गर्नुभयो । केसीले ७५ वर्ष अगाडि राणा सासनको अन्त हुने बेलाको कुरा सम्झँदै त्यसयता मुलुकमा कति परिवर्तन भए तर व्यवस्था परिवर्तन भए अनुसार देशको समस्या समाधान हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

पूर्व उपप्रधानमन्त्री केसीले लोकतन्त्र र गणतन्त्र रक्षाको लागि जनताहरु सधै पहरेदार भएर लाग्नुपर्ने बताउनुभयो । ‘नेताहरु शक्तिका लागि आउँछन् र जान्छन् । जनता त सँगै साक्षी छन् नी,’ केसीले भन्नुभयो,‘केही प्रतिगामीले जनताले संघर्ष गरेर ल्याएको गणतन्त्रको आवश्यकता छैन भन्दै गरेका छन्, ति सबै देशका लागि घाती हुन, लोकतन्त्र र गणतन्त्रका लागि सधै हामी पहरेदार भएर लागौं ।’कार्यक्रममा नेपाली काँग्रेस बागलुङका जिल्ला

सदस्य महेन्द्र आचार्य, अन्तरपार्टी महिला सञ्जालका कोषाध्यक्ष ललिता थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो । जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले स्वागत मन्तव्य र जिल्ला समन्वय समिति बागलुङका समन्वय अधिकारी कृष्णराज शर्माले संचालन गर्नुभएको थियो ।