
बागलुङ, ४ फागुन । नेपाल मगर संघ बागलुङले यस वर्ष चौथो लखन कप गर्ने भएको छ । ४३ औं मगर दिवसको अवसरमा पारेर नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले पाँच दिनसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्ने आईतबार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
अध्यक्ष श्याम बहादुर पुनले प्रथम शहिद लखन थापाको सम्झनामा फागुन ११ गतेदेखि १५ गतेसम्म (लखन कप) विभिन्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । संघले खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, पालिका स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता, पुरुष तथा महिला ठेलो फाल्ने प्रतियोगिता र रस्साकस्सी प्रतियोगिताको आयोजना गरेको छ । पुरुष भलिबल प्रतियोगिताको विजेताले ८१ हजार १ सय ८१ रुपैयाँ र उपविजेताले ४१ हजार १ सय ४१ रुपैयाँ प्राप्त गर्नेछभने महिला भलिबलको विजेताले ३० हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष पुनले बताउनुभयो ।
यस्तै पुरुष ठेलो फाल्ने प्रतियोगिताको विजेताले ८ हजार र उपविजेताले ४ हजार रुपैयाँ, महिला ठेलो फाल्ने प्रतियोगिताको विजेताले ५ हजार रुपैयाँ र २ हजार पाँच सय रुपैयाँ, पुरुष रस्साकस्सी प्रतियोगिताको विजेताले ५ हजार रुपैयाँ र उपविजेताले ३ हजार रुपैयाँ र महिला रस्साकस्सी प्रतियोगिताको विजेताले ४ हजार रुपैयाँ र २ हजार रुपैयाँ प्राप्त गर्ने कार्यक्रम संयोजक किशोर छन्त्यालले बताउनुभयो ।
प्रतियोगिताको लागि ४ लाख ३ हजार ३ सय ३२ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष पुनको भनाई छ । उहाँले विभिन्न व्यक्ति र संस्थासँग सहयोग अपिल गरिएको बताउनुभयो । फागुन १५ गते मूल समारोह हुने जनाइएको छ ।