‘पत्रकार लेखनवृत्ति कोष’को घोषणा

बागलुङ, २७ माघ । नेपाल पत्रकार महासंघ बागलुङले ‘पत्रकार लेखनवृत्ति कोष’को घोषणा गरेको छ । गत मंसिर २८ गते सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले निर्णय गरेको कोषको शनिबार घोषणा गरिएको हो ।

कोष घोषणा कार्यक्रममा अध्यक्ष राम थापा ‘अविरल’ले खोजी पत्रकारितामा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने गरी कोषणको घोषणा गरिएको बताउनुभयो । उहाँले लेखनवृत्ति कोष मार्फत हरेक वर्ष खोजी पत्रकारिता गर्ने दुई जना पत्रकारलाई ५०÷५० हजार रुपैयाँ उपलब्ध गराईने बताउनुभयो ।

‘१० लाखको पत्रकार लेखनवृत्ति कोष बनाउने हामीले निर्णय गरेका छौं,’ अध्यक्ष थापाले भन्नुभयो,‘कोषको व्याजबाट हरेक वर्ष खोजी पत्रकारिता गर्ने २ जना पत्रकारलाई ५०/५० हजार रुपैयाँ उपलब्ध गराउछौं ।’ कोषमा शनिबारसम्म चार लाख रुपैयाँ संकलन भएको महासंघका कोषाध्यक्ष खेमराज गौतम (सुवास)ले जानकारी दिनुभयो । उहाँले महासंघका पदाधिकारी तथा सदस्य मार्फत १ लाख ५५ हजार सहित देश तथा विदेशमा रहेका पत्रकारहरु र कार्यक्रमममा उपस्थितबाट संकलित गरी हालसम्म ४ लाख रुपैयाँ संकलन भएको बताउनुभयो । अध्यक्ष थापाले कोषमा १० लाख पु¥याउने लक्ष्य रहेको र १० लाख पुगेपछि संकलन अभियान रोहिने बताउनुभयो ।

अध्यक्ष थापाले पत्रकारिता क्षेत्रको गुणात्मक विकासका लागि खोजी र विश्लेषणामक समाचार लेख्ने पत्रकारलाई प्रोत्साहित गर्ने र खोज पत्रकारिता प्रति आकर्षण पैदान गर्ने ध्येयले कोषको अवधारणा अघि सारिएको बताउनुभयो । उहाँले खोजी पत्रकारिता गर्नका लागि योजना, अनुसन्धान र रिपोर्टिङकबा स्थापित प्रक्रिया अपनाउनुपर्ने बताउँदै कुनैपनि विषय वा मुद्धामा गहन खोज तथा अन्वेषण गरी समाचार कथा लेखनतर्फ पत्रकारलाई उत्प्रेरित गर्न कोषले मद्दत पु¥याउने बताउनुभयो ।

कोष घोषणा कार्यक्रमको उद्घाटन पछि बोल्दै गण्डकी प्रदेशसभाका उपसभामुख विनाकुमारी थापाले नागरिकलाई आशा जगाउने गरी पत्रकारिता गर्न आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय निराशाका मात्र समाचार आउँदा नागरिकमा निराशा बढ्दै गएको बताउँदै त्यसलाई निस्तेज पारेर आशा जगाउने समाचार लेख्न पत्रकारहरुलाई सुझाव दिनुभएको हो ।

उपसभामुख थापाले पत्रकारहरु गलत, नियोजित र खराब सुचनाबाट टाढै रहेर सही सूचनालाई अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले पत्रकारहरुले पछाडी पारिएका वर्ग महिला, दलित र अपाङ्गता भएका व्यक्तिहरुको मुद्धालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा नेकपा एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली, गण्डकी प्रदेशसभा नेकपा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कुशुम बुढा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष प्रकाश पौडेल, गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, नेपाली काँग्रेसका जिल्ला सदस्य महेन्द्र आचार्य, नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसी, बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष रामबहादुर जिसी, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगर, प्रेस चौतारी बागलुङका अध्यक्ष कमल पौडेल, प्रेस सेन्टर बागलुङका सचिव बिनोद थापा प्रतिक, प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सचिव ताराप्रसाद शर्मा, गैरसरकारी संस्था महासंघका अध्यक्ष मुक्तिराम सापकोटा र पुरस्कृत पत्रकार रामकृष्ण बोहोराले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा नेपाल पत्रकार महासंघ बागलुङमा स्थापित दुई वटा पुरस्कारबाट बागलुङमा क्रियाशिल दुई जना पत्रकार पुरस्कृत गरिएको छ । पत्रकार महासंघ बागलुङमा स्थापित टिकाधन खोज पत्रकारीता पुरस्कार–२०८१ बाट पत्रकार रामकृष्ण बोहोरा र बिकास पौडेल स्मृति पत्रकारीता पुरस्कार–२०८१ बाट पत्रकार डम्मर बुढालाई पुरस्कृत गरिएको हो । बोहोरालाई नगद १० हजार र बुढालाई नगद ५ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको थियो ।

पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुवास आचार्यको स्वागत, उपाध्यक्ष सिर्जना पन्तले कोषमा सहयोगीको रकम जानकारी र सचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको
थियो ।