दोस्रो स्मृति कपको सेमिफाइनल समिकरण पुरा

बागलुङ, ३ माघ । बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

बिहिबार गुठी युनाईटेड र प्रर्पल हेज विजयी हुँदै सेमिफाइनल प्रवेश गरेपछि समिकरण पुरा भएको हो । विभागीय टिम जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्रले बुधबार जित निकाल्दै सेमिफाइनलल प्रवेश गरिसकेका छन् ।

बिहिबारको पहिलो खेलमा आदर्श विद्यामन्दिरलाई ०–१ गोलअन्तरले हराउँदै गुठी सेमिफाइनलमा प्रवेश गरेको हो । गुठीलाई जित दिलाउन खेलको २२ औं मिनेटमा अविशेष केसीले गरेको गोल निर्णय बन्यो ।

चार जना विदेशी खेलाडीसहित मैदान प्रवेश गरेको आदर्शले खेलमा गोलको लागि केही मौका पाएपनि परिणत गर्न नसक्दा प्रतियोगिताबाट बाहिरियो । गुठीले शुक्रबार पहिलो सेमिफाइनल खेलमा जिल्ला प्रहरी कार्यालय बागलुङसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै बिहिबारको दोस्रो खेलमा प्रर्पल हेजले चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबलाई १–० गोलअन्तरले पराजित गर्यो । प्रर्पलको जितमा अनिष महर्जन नायक बने । उनकै गोलले प्रर्पलले चिल्ड्रेन लाईफमाथि कठिन जित हात पार्दै सेमिफाइनल प्रवेश गर्यो ।

प्रतिस्पर्धात्मक खेलमा महर्जनले खेलको ५४ औं मिनेटमा हेडिङ्ग मार्फत गोल गर्दै प्रर्पललाई अगैता दिलाएका थिए । प्रर्पलल गोल गर्ने केही सुनौलो अवसर पाएपनि गोल गर्न सकेन् । शुक्रबार दोस्रो सेमिफाइनल खेलमा प्रर्पलले संकल्प पुर्नस्थापना केन्द्रसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ रुपैयाँ र ६६ हजार ६ सय ६६ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागलुङ एकता क्लबले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडीहरुलाई विधागत पुरस्कार प्राप्त गर्नेछन् ।