
बागलुङ, १ माघ । आदर्श विद्यामन्दिर, चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब र गुठी युनाईटेड बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार बागलुङ नगरपालिका–६ (विवाईसी)लाई १–५ गोलअन्तरले पराजित गर्दै आदर्श विद्यामन्दिर क्वाटरफाइनलमा प्रवेश गरेको हो । एभीएमले विदेशी खेलाडी जाफा कोनामलाई समेत टोलीमा भित्राएको छ । कोनामले बानपा ६ विरुद्वको खेलमा ह्याट्रिक गर्दा विपुल गौतमले एक गोल थपे । बानपा ६ का लागि साजन छन्त्यालले सान्त्वना गोल गरेका थिए ।
यस्तै, मंगलबार नै भएको दोस्रो खेलमा चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबले इस्पायर ग्लोबललाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
चिल्ड्रेनको जितमा सरोज दर्लामीले २, विनम थजाली, राजिव श्रीस र वरदान थापाले एक/एक गोलको योगदान गरे ।
यस्तै मंगलबारको अन्तिम खेलमा ट्राइबेकरमा रिभरसाइड बेनीका गोलकिपर सन्तोष महत चुक्दा प्रतियोगिताको सशक्त उपाधि दाबेदार मानिएको गुराँस गुठी युनाईटेड क्लबले राहतको महशुस गरेको छ ।
छिमेकी टोली रिभरसाइड बेनीले गुराँस युनाईटेडविरुद्व एक गोलको अग्रता जोगाउन नसक्दा ट्राइबेकरमा पराजय हुँदै घर फर्किएको छ । खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेपनि रिभरसाइडका गोलकिपर महत अन्तिममा गोल गर्न चुके । महतको सशक्त प्रहारलाई गुठी युनाईटेका गोलकिपर सिजन राना मगरले बिफल बनाएपछि बेनी निराश बन्यो । ट्राइबेकरमा गुराँस गुठी युनाईटेडले ५–४ गोलको संघर्षपूर्ण जित निकाल्यो ।
ट्राइबेकरमा रिभरसाइडका पुरन छन्त्याल, रविन खड्का, संजोग महर्जन र सविन खड्काले गोल गरे भने गुराँस गुठी युनाईटेडकोका जितका लागि सन्तोष पुन, किरण थापा, सम्राट लिम्बु, अभिषेक बोहरा र अभिषेक रानाले गोल गर्न सपल भए । यसअघि खेलको दोस्रो हाफमा मनिष श्रेष्ठको गोलमा अग्रता लिएको रिभरसाइडले गोल गर्ने राम्रा अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पराजित भएको छ । निकै नै प्रतिष्पर्धात्मक खेलमा गुठीलाई बराबरीमा फर्काउन अभिषेक रानाले उत्कृष्ट गोल गरेपनि त्यो पर्याप्त हुन सकेन ।
गुठी अब प्रतियोगिताको सशक्त टोली आदर्श विद्यामन्दिर स्पोर्टस् क्लब (एभिएम)को सामना गर्ने छ ।
प्रतियोगिताको चौथो तीन खेल हुँदैछन् । प्रतियोगिताको पहिलो खेल पर्पल हेजविरुद्व रुद्रेपिपल, नेपाली सेनाको विभागि टोली श्रीमेहर गणविरुद्व डिपिओ बागलुङ र तेश्रो खेल सेनाकै टोली नारायण दल गण मुस्ताङविरुद्व संकल्प पुर्नस्थापना केन्द्रबीच हुने छ ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख २२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र पाउने छ भने दोश्रो हुनेल ६६ हजार ६ सय ६६ रुपैयाँ नगद र मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।