
बागलुङ, २९ पुष । काठेखोला गाउँपालिकाले गाउँपालिका भित्र बिभिन्न क्षेत्रमा बिशिष्ट योगदान गर्ने १२ जना व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ ।
पालिकाले १६ औं गाउँसभामा गाउँपालिकाको गरिमा बढ्नेगरी योगदान गरेको भन्दै शिक्षा, कृषि, उद्योग, सञ्चार लगायतका क्षेत्रका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको हो ।
गाउँपालिकाले एसइइ र कक्षा १२ को परीक्षामा सतप्रतिशत नतिजा ल्याएको भन्दै धारा माध्यामिक बिद्यालय र राष्ट्रपति रनिङ् शिल्ड जितेको अमर माध्यामिक बिद्यालयलाई सम्मान गरेको छ । साना उद्योग मार्फत रोजगारी सिर्जना गरेको भन्दै फर्निचर व्यवसायी पूर्ण बहादुर थापा सम्मानित भएका छन् । कृषितर्फ अलैची उत्पादक किसान भीम बहादुर जोल्मी, फलफुल उत्पादक किसान गोरी थापा, पशुपालक किसान लाल बहादुर घर्ती, सुन्तला उत्पादक किसान लोकनाथ कँडेल, रैथाने बाली उत्पादक किसान लिलाधर कँडेल, र चिया उत्पादक किसान याम बहादुर कार्कीलाई सम्मान गरिएको छ ।
त्यस्तै उद्योग तर्फ पशुपति कपी उद्योगका सञ्चालक राजु सापकोटा र सञ्चार तर्फ गुहेली सञ्चार सहकारीका अध्यक्ष खिम बहादुर कार्कीलाई सम्मान गरिएको छ । कार्की अध्यक्ष रहेको सहकारीले काठेखोलानै कार्यक्षेत्र बनाएर जननिगरानी साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएकोछभने पत्रिकाले गाउँपालिकाका गतिबिधि नियमित प्रकाशन गर्दै आएको छ ।