
अर्जुन कार्की
बागलुङ, २९ पुष । बागलुङ एकता क्लबको आयोजनामा सोमबारबाट सुरु भएको दोस्रो स्मृति कप फुटबल प्रतियोगितामा नेपाली सेनाका दुई टिमले विजयी सुरुवात गरेका छन् । प्रतियोगिताको पहिलो दिन श्रीमेहर गण र नारायण दल गणले विजयी सुरुवात गरेका हुन् ।
श्रीमेहरले उद्घाटन खेलमा आयोजक बागलुङ एकता क्लबलाई ३–० गोलअन्तरले पराजित गर्यो । श्रीमेहरको लागि खेलको ५ औं मिनेटमा विकास मगरले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अग्रता लिएको श्रीमेहरले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ४९ औं मिनेटमा प्रकाश निरौला र ५४ औं मिनेटमा जिवन राईले गोल गर्दै जित निश्चित गरेका थिए ।
यस्तै सोमबारको दोस्रो खेलमा नारायण दल गणले खेलकुद विकास समिति बा.न.पा.–६ लाई ४–० गोलअन्तरले पराजित गर्यो । नारायण दलको लागि धिरेन्द्र शाहीले ह्याट्रिक गरेका थिए । खेलको १३ औंमा मिनेटमा आफ्नो र टिमको लागि पहिलो गोल गरेका शाहीले ३१ औं मिनेटमा दोस्रो र ६६ औं मिनेट तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । नारयाण दलको लागि ३६ औं मिनेटमा सुनिल चौधरीले गोल गरेका थिए ।
माघ ५ गतेसम्म संचालन हुने प्रतियोगिताको दोस्रो दिन भोली (मंगलबार) तीन खेल हुने क्लबका अध्यक्ष इन्सान थापाले बताए । मंगलबार पहिलो खेल आदर्श विद्यामन्दिर र वार्ड नम्बर ६ (विवाईसी), दोस्रो खेल चिल्ड्रेन लाईफ स्पोर्ट क्लब र इन्सपायर ग्लोबल विच हुनेछभने तेस्रो खेल रिभर साइड बेनी र गुठी युनाइटेड विच हुनेछ ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ रुपैयाँ र ६६ हजार ६ सय ६६ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडीहरुलाई विधागत पुरस्कार प्राप्त गर्नेछन् ।