प्रगति सहकारीको कारोबार साढे ९७ करोड

बागलुङ, २१ पौष । प्रगति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङले आर्थिक वर्ष २०८०/८१ मा ९७ करोड बढीको कारोबार गरेको छ ।

सहकारीको १८ औं बार्षिक साधारण सभामा शनिबार संस्थाका कोषाध्यष लक्ष्मी प्रसाद पौडेलले सहकारीले ९७ करोड ४६ लाख ५८ हजार ८ सय ४ रुपैयाँको कारोबार गरेको जानकारी दिनुभयो । उहाँले सहकारीले २ करोड ७६ लाख ८३ हजार ७ सय ९७ रुपैया खर्च गरेको संस्थाले १५ लाख १४ हजार ७ सय ४ रुपैयाँ खुद मुनाफा गरेको बताउनुभयो । सहकारीले शुक्रबार काठेखोला गाउँपालिका–२ भीमापोखरा र शनिबार बागलुङ बजारमा साधारण सभा सम्पन्न गरेको छ ।

शनिबार साधारण सभाको उद्घाटन पछि बोल्दै गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापाले सहकारीहरु उद्देश्य अनुरुप संचालन भएमा कहिलै संकटमा नआउने बताउनुभयो । उहाँले आफुले कारोबार गर्ने सहकारीप्रति सचेत रहन सेयर सदस्यलाई आग्रह समते गर्नुभएको थियो । ‘पछिल्लो समय केही सहकारी संचालककै मनोमानीका कारण संकटमा परेको घटना बाहिर आएका छन्,’ उपसभामुख थापाले भन्नुभयो,‘सेयर सदस्यहरु सचेत रहँदा सहकारी प्रभावकारी र मजबुत बन्नेछन् ।’

उपसभामुख थापाले सहकारीले अब बचत र ऋणको मात्र काम नगरेर बहुउद्देश्यीय काममा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । ‘शेयर सदस्यहरुले सहकारीबाट लगेको ऋणलाई सही ठाउँमा सदुपयोग गर्नुपर्छ,’ उहाँले भन्नुभयो,‘सहकारीले अब बचत तथा ऋणको मात्र कारोबार नगरेर बहुउदेश्यीय काममा ध्यान केन्द्रित गरेमा शेयर सदस्यलाई मुनाफा दिन सकिन्छ भने सहकारीमा संकट आउँदैन ।’

उहाँले केही सहकारी संचालककै कारण संकटग्रस्त बनेको र्र सबै सहकारीमा समस्या नरहेको बताउँदै ढुक्क भएर कारोबार गर्न बचतकर्तालाई आग्रह गर्नुभयो । सहकारीलाई दिगो बनाउन सेयर सदस्यले सबैभन्दा बढी उत्तरदायि बन्नुपर्ने उपसभामुख थापाको धारणा थियो ।

कार्यक्रममा संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक महादेव सापकोटा, सल्लाहकार दिपक गौतम, काठेखोला गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण पुन, सेयर सदस्य तेज प्रसाद न्युरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका गर्नुभएको थियो ।

शुक्रबार भीमापोखरामा सम्पन्न एकाई साधारण सभाको उद्घाटन गर्दै काठेखोला गाउँपालिका २ का वडा अध्यक्ष विद्यापति शर्माले सहकारीको रकम हिनामिना हुनबाट जोगाउन सेयर सदस्यहरु जागरुक हुनुपर्ने बताउनुभयो । सहकारीलाई मजबुत बनाउन परिवर्तित नियम कानुनबारे सेयर सदस्यहरुलाई जानकारी दिन सहकारी शिक्षा कार्यक्रम संचालन गर्नुपर्ने शर्माले सुझाव दिनुभएको थियो ।

साधारण सभामा संस्थाका सञ्चालक सदय विजयराज पन्त र सल्लाहकार डा. डिल्लीराज गौतमले शुभकामना मन्तव्य व्यक्त गर्दे सहकारीलाई मजबुत बनाउन सेयर सदस्यहरु नै बढि चनाखो हुनुपर्नेमा जोड दिनुभएको थियो । साधारणसभाको अवसरमा सो अवसरमा उत्कृष्ट बाल बचतकर्ता राम बहादुर थापा, रविन बहादुर थापा, उत्कृष्ट बचतकर्ता सुरेश थापा, जेष्ठ नागरिक सन्तुराम उपाध्याय, कलाधर उपाध्याय, उत्कृष्ट कर्मचारी प्रतिमा किसानलाई सम्मान गरिएको थियो ।

यस्तै लामो समयदेखि बालबचत गरी शेयर सदस्य प्राप्त गर्न सफल निशा आचार्य, उत्कृष्ट बाल बचतकर्ता किन्जल शर्मा, लक्ष्मी शर्मा जिसी, आयन शर्मा, कृष्ण न्युरे, कृषा न्युरे, मिना कुमारी शर्मा, उत्कृष्ट कारोबार गर्ने केदारनाथ सापकोटा, नारायण प्रसाद चापागाईं, राधा गौतम, आशिष शर्मा, निर्मला न्यौपाने, तुलसीराम गौतम, काशीराम शर्मा, संस्थागततर्फ उत्कृष्ट कारोबार गर्ने अमर आदर्श आवासिय मावि, जेष्ठ नागरिक ज्ञानी कार्की, बिजुली केसी, चन्द्रकली पुन, हितनाथ शर्मा, नेत्रराज शर्मा, आनन्द प्रसाद शर्मा र नरबहादुर श्रीसलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष तोयानाथ गौतम र संचालन सचिव बालकृष्ण शर्माले गर्नुभएको थियो ।