बागलुङ, १६ मंसिर । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले २० औं स्थापना दिवसको अवसरमा आईतबार ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रमको शुभारम्भ गरेको छ छ । २०६१ साल मंसिर १६ गते स्थापना भएको बागलुङ शाखाले २१ औँ वर्ष प्रवेश गरेको अवसरमा ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रमको शुभारम्भ गरेको हाे ।
प्रेस चौतारी कप–२०८० को विजेता विद्यालय चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलबाट ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रमको शुभारम्भ गर्दै नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले सूचना र सञ्चारको सदुपयोग गरेर विद्यार्थीले आफ्नो जीवनको मार्ग कोर्नुपर्ने बताउनु भएको थियो । विश्वमा धनी, शक्तिशाली व्यक्ति र राष्ट्रहरु सूचना र सञ्चारको सही प्रयोगबाटै बनेको भन्दै उहाँले यसको गलत प्रयोगले व्यक्तिमात्र नभएर सिंगो व्यवस्थानै तहसनहस हुन सक्ने बताउनु भएको थियो ।
पछिल्लो समय युवा, विद्यार्थी र सचेत नागरिक समेत भ्रामक सूचनाको सिकार हुँदा समाज र व्यवस्था समेत अराजकताको भूमरीमा फस्न सक्ने सम्भावना बढेको भन्दै उहाँले सबैको भविश्य अन्योलमा पर्ने खतरा बढेको बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज तारानाथ आचार्य, प्रेस चौतारी नेपालका पूर्व सचिव तथा बागलुङका संस्थापक तथा रामकृष्ण शर्मा, चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठ र पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा कक्षा ११ र १२ मा अध्यनरत व्यवस्थापन संकायका १ सय ५० जना विद्यार्थीलाई प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज तारानाथ आचार्यले बोल्ने कला सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।
२० औँ स्थापना दिवसबाट प्रत्येक महिना एउटा विद्यालयका विद्यार्थीसँग पुग्ने गरि ‘विद्यार्थीसँग प्रेस चौतारी’ को शुभारम्भ गरेको प्रेस चौतारी बागलुङकी अध्यक्ष सिर्जना पन्तले बताउनुभयो ।
जिल्ला अध्यक्ष सिर्जना पन्तको अध्यक्षता तथा स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रममा सचिव अर्जुन कार्कीको संचालन र उपाध्यक्ष खेमराज गौतमले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।