खिम बहादुर कार्की
बागलुङ, ४ मंसिर । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले सरकारले अस्पतालहरुको वर्गिकरण गर्ने प्रक्रियालाई अगाडी बढाएको बताएका छन् ।
काठेखोला गाउँपालिका वडा नम्बर ६ बिहुँको नवनिर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री पौडेलले अस्पतालको वर्गिकरण गरेर सेवा सुविधा थप गर्ने बताए । ‘अहिले अस्पतालको वर्गिकरण गर्ने प्रक्रियालाई अगाडी बढाएका छौं,’ मन्त्री पौडेलले भने,‘सवै अस्पतालमा एमआरआई, सिटी स्क्यान चाहिने हो की होइन ? त्यसको लागि अस्पतालको वर्गिकरण गर्नु जरुरी छ । त्यसैले शैयाको आधारमा नभइ सेवाको आधारमा अस्पतालहरुको वर्गिकरण प्रक्रिया अगाडी बढाएको छौं । स्थानीय, प्रदेश र संघिय सरकार मातहत रहेका अस्पतालहरुले के–के सेवा दिने, कति बेडको अस्पतालले के सेवा दिने भनेर वर्गिकरण गरिरहेका छौं ।’
मन्त्री पौडेलले मिर्गौला फेल रोगलाई न्यूनिकरण गर्नको लागि स्क्रीनिङ्ग गर्न सुरु गरिएको बताए । डायलसिस र मिर्गौला प्रत्यारोपणको अवस्थामा विरामीलाई नपु¥याउनको लागि स्क्रीनिङ्ग गर्न सुरु गरिएको उनले बताए । सरकारले सातवटै प्रदेशमा मुटु र क्यान्सर रोगको विशिष्टीकृत अस्पताल सञ्चालन गर्ने भएको छ । स्वास्थ्यमन्त्री पौडेलले अहिले प्रत्येक प्रदेशमा क्यान्सरको एउटा अस्पताल सञ्चालनको प्रक्रियामा रहेको जानकारी दिँदै आउँदा दिनमा मुटुरोगको पनि उपचार हुने अस्पताल सञ्चालनमा ल्याइने बताए । यस्तै क्यान्सरबाट बचाउनको लागि माघ २२ गतेदेखि ९ वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई एचपिभि भ्याक्सीन दिइन लागेको मन्त्री पौडेलले बताए ।
श्रोतको सुनिश्चितता नहुँदा धेरै योजनाहरु कार्यान्वयन गर्न नसकिएको मन्त्री पौडेलको भनाई छ । ‘अस्पताल बनेपनि उपकरण र चिकित्सकहरु नआएको श्रोत नभएर हो,’ स्वास्थ्यमन्त्री पौडेलले भने,‘मलाई डाक्टर, नर्स, स्वास्थ्यकर्मी पठाउन मन छ तर त्यसरी सिधै पठाउन सम्भावना छैन । अहिले स्वास्थ्य मन्त्रलयलाई ३२ हजार स्वास्थ्यकर्मी र चिकित्सकहरु चाहिएको छ । सरकारलाई ३२ हजार होइन ३२ सय दिनुस् भनेको छु । ३२ सय भएमा केही स्वास्थ्यकर्मीहरु स्वास्थ्य चौकीमा पठाउन सकिन्छ ।’
स्वास्थ्यमन्त्री पौडेलले रोग लाग्न नदिने उपाय नसोचेमा विरामीहरुले राज्यले थेग्न नसक्ने गरी बढ्ने बताए । ‘अब रोग लाग्न नदिने उपाय सोच्नुपर्छ । यसरी विरामी बढिरहेमा राज्यले थेग्न सक्दैन,’ उनले भने,‘वडा तहमा रहेका अस्पतालहरुलाई उपचारात्मक प्रणालीमा विशिष्ठ अस्पतालका रुपमा विकसित गर्न सक्दैनौं । स्वास्थ्य चौकीहरुलाई निरोधात्मक चेतना विस्तार गर्ने प्रणालीमा विकास गर्न जरुरी छ ।’ स्वास्थ्य चौकीहरुले क्यान्सर, मिर्गौला खरावी लगायतका रोगहरु के भएर हुन्छ, नलाग्न के गर्नुपर्छ ? नागरिकहरु सचेत भएमा धेरै रोग लाग्न सक्दैन भन्ने चेतनाको विकास गराउनुपर्छ ।
वडाका स्वास्थ्य चौकीलाई प्रसुति वार्ड बनाउनुपर्ने मन्त्री पौडेलले बताए । उनले सुत्केरी आमाको उपचारलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै वडाका अस्पतालहरुलाई प्रसुति वार्ड बनाउनुपर्ने नभएपनि राम्रो वर्थिङ्ग सेन्टर बनाउनुपर्नेमा जोड दिएका थिए । ग्रामीण भेगको स्वास्थ्य सुधारमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले धेरै राम्रो काम गरेको मन्त्री पौडेलको भनाई छ ।
गाउँहरुमा पछिल्लो समय बसाईसराईको कारण जनसंख्या कम भएकोले निजी कम्पनीहरुले गाउँहरुमा लगानी नगर्ने हुँदा नागरिकहरुको स्वास्थ्य सुविधाको निम्ती राज्यले लगानी गर्नुपर्ने मन्त्री पौडेलले बताए । उनले तीन तहकै सरकारले एउटै नागरिकको सेवा गर्नुपर्ने हुनाले मिलेर गर्नुपर्ने बताए । ‘संघियता भनेको सवै काम छुट्टाछुट्टै गर्नुपर्छ भन्ने होइन । संघियता भनेको फरक फरक देशका सरकारहरु होइनन् । एउटै देशको एउटै नागरिकलाई सेवा गर्न बनेको तीन तहको सरकार हो । त्यसैले मिलेर काम गर्नुपर्छ,’ मन्त्री पौडेलले भने,‘स्वास्थ्य, शिक्षा, सार्वजनिक यातायात, शान्ति सुरक्षामा कतिपय कामहरु तीन वटै तहका सरकार मिलेर गर्न जरुरी हुन्छ । त्यस कारणले सरकारको स्वास्थ्य प्रणालीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा तीन वटै तहका सरकारले आपसमा समन्वय गरेर समझदारी पूर्वक अगाडी बढाएर लाग्नुपर्नेछ ।’