नेपाल परिवार नियोजन संघको केन्द्रीय अध्यक्षमा श्रेष्ठ निर्वाचित

बागलुङ, २ मंसिर । नेपाल परिवार नियोजन संघको केन्द्रीय अध्यक्षमा चितवनका राजेन्द्रबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार बागलुङमा सम्पन्न संघको ४२ औं केन्द्रीयसभामा श्रेष्ठ गोलाप्रथाबाट निर्वाचित भएका हुन् ।

अध्यक्षको उमेदवारी दिएका चार जना मध्ये निरन्जन प्रसाद श्रेष्ठ र राजेन्द्रबहादुर श्रेष्ठको मत बराबरी भएपछि गोलाप्रथाबाट राजेन्द्र अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका उम्मेदवारद्वय राजेन्द्र र निरन्जनले १०–१० मत प्राप्त गरेपछि गोलाप्रथाबाट अध्यक्ष चयन गरिएको थियो ।

अध्यक्षका अर्का उम्मेदवार मनोज कुमार उप्रेतीले ५ मत र डा. किरण रेग्मीले २ मत प्राप्त गरेको निर्वाचत अधिकृत भुमिश्वर गौतमले बताए ।

संघको केन्द्रीय कोषाध्यक्षमा बागलुङका निर्माणकुमार श्रेष्ठ ‘बासु’ निर्वाचिन भएका छन् । श्रेष्ठ बागलुङ शाखाका अध्यक्ष समेत हुन् । श्रेष्ठका निकतम प्रतिस्पर्धी जनकराज जोशीले १० मत र अर्का उम्मेदवार सुरेन्द्र बस्नेतले ५ मत प्राप्त गरे ।

महिला तर्फको केन्द्रिय सदस्यमा कमला सापकोटा र राधिका गुरुङ निर्वाचित भएका छन् । सापकोटाले २० मत र गुरुङले १६ मत प्राप्त गरेका छन् । महिला सदस्यकै अर्का उम्मेदवार नितु बस्नेतले १४ मत प्राप्त गरिन् ।

संघको युवा सदस्य तर्फ प्रमिला खड्का र भागिरथी भट्ट निर्विरोध निर्वाचित हुनुभएको छभने यौनिक तथा अल्पसंख्यक क्षेत्रबाट संजिया श्रेष्ठ, कानूनीक्षेत्रबाट चन्द्रमाया श्रेष्ठ, अर्थ सदस्य गजेन्द्रदेव लेखक र यौन तथा प्रजनन् स्वास्थ्य सदस्य दिनेशमान सिंह प्रधान निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत गौतमले बताए ।

केन्द्रीयसभा उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुले नेपालमा अन्य संस्थाले सुरक्षित सेवा दिन नसकेको बेला संघले दिएको भूमिकाबाट सिकेर अझै आधुनिक सेवामा पनि साथ दिनुपर्ने बताए । त्यसका लागि आगामी नेतृत्वले योजना ल्याउने बेला भएको समेत बताए । उनले नेपालको महिला स्वास्थ्य तथा सुरक्षित गर्भपतनको इतिहासमा परिवार नियोजन संघले अग्रणी भूमीका खेलेको बताए ।