जैमिनी नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनवाई

बागलुङ, २ मंसिर । जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।

कार्यक्रममा चौमासिक प्रगति विवतरण प्रस्तुत गर्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर भुजेलले नगरपालिका भित्र संघ, प्रदेश र स्थानीय तहको गरी कुल ५३९ वटा योजना रहेकोमा पहिलो चौमासिकमा ५२ योजनाको लागत स्टीमेट तयार भएको, २० योजना सम्झौता भएको र चार वटा योजना कार्यान्वयन भएर पनि फरफारक भइसकेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा कुल ७२ करोड ६० लाख बजेटमध्ये पुँजीगतर्फ २१ करोड ४६ लाख बजेट नगरपालिकाले विनीयोजन गरेको बताउनुभयो । उक्त बजेटमध्ये पुँजीगततर्फ ३.४१ प्रतिशत र चालुतर्फ २४.८ प्रतिशत बजेट खर्च भएको उहाँले जानकारी गराउनुभयो ।

चालु आर्थिक वर्षमा २८ वटा ऐन, ३ वटा नियमावली, ८ वटा निर्देशिका, ४१ वटा कार्यविधि र ५ वटा मापदण्ड नगरपालिको निर्णाण गरेको उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत भुजेलले नगरपालिकाबाट तय गरिएका योजनाहरु यही मंसिर मसान्त भित्र सबै वडामा पुगेर सम्झौता गर्ने तयारीमा रहेको समेत बताउनुभयो । ‘हामीले सामाजिक सुरक्षा भत्ता वडा र टोलबाटै वितरण गर्ने गरेका छौं, मंसिर मसान्तभित्र सबै वडामा योजना सम्झौता, उपभोक्ता समिति गठन, समितिको खाता सञ्चालन तथा उपभोक्ता समितिलाई प्रशिक्षणका लागि पुग्छौं,’ उहाँले भन्नुभयो,‘समयमै योजना सम्पन्न गरी दीगो बनाउने विषयमा हामी सचेत छौं ।’

कृषि एम्बुलेन्स मार्फत कृषकका उत्पादन संकलन गरी बजारीकरण गर्ने तयारी गरिएको समेत उहाँले बताउनुभयो । ‘कृषि एम्बुलेन्स खरिदको लागि कार्यपालिकाले निर्णय गरेर प्रक्रिया अगाडी बढाइएको छ,’ उहाँले भन्नुभयो,‘एम्बुलेन्स खरिद पछि पालिका भित्रका कृषकले उत्पादन गरेका कृषिजन्य वस्तु संकलन गरी बजारीकरणमा सहयोग गछौं । उत्पादनको आधारमा कृषकलाई अनुदान प्रदान गरिन्छ ।’

शैक्षिक सुधारका लागि विद्यालय मर्ज, डाउन साईजिङ गर्ने कार्य टुङ्ग्याएको, शिक्षकको दरबन्दी मिलान गरिएको उहाँले जानकारी दिनुभयो । लिड स्कुल सञ्चालनमा आएको पनि उहाँले जानकारी दिनुभयो । जग्गाको वर्गीकरण गरिएको, नगर अस्पतालका लागि सबै तयारी पूरा गरेर स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयको पठाएको भुजेलले बताउनुभयो । नगरपालिकाको प्रशासनिक भवन यही पुस मसान्त भित्र पूरा गर्नेगरी निर्माण जिम्मा दिए पनि अहिलेसम्म ४५ प्रतिशत मात्रै भौतिक प्रगति भएको उहाँले बताउनुभयो ।

जैमिनी नगरपालिका-८ छिस्तीमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले नगरपालिकाले नागरिकले सहज सेवा पाउनेगरी काम गर्न नसकेको गुनासो गरेका थिए । ‘स्थानीय सरकार आयो, नजिकै सेवा आयो भने तर हामी नागरिकको समस्या उस्तै छ,’ कार्यक्रममा सहभागीले भने,‘नागरिकको करबाट सेवा सुविधा लिने जनप्रतिनिधि र कर्मचारीले हाम्रो समस्या कहिले देख्छन् ?’ जैमिनी नगरपालिकाको आयोजना पिपुन्स मिडिया एण्ड रिसर्च सेन्टरको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै स्थानीय रघुनाथ पौडेलले भन्नुभयो,‘हाकिम साबले यहाँ भन्दा नगरपालिकाले अब काम गर्न केही बाँकी नरहेको भने जस्तो गरी यसो र उसो गरेम भनेर भन्नुभयो । तर हामीले देख्नेगरी केही काम भएको छैन ।’ योजना कार्यान्वयन गर्दा प्राविधिक नआउने, किसानलाई पशु र कृषि प्राविधिक सेवा पाईदैन र बालबालिका पढाउन शहर पस्ने अवस्था छ यो कहिले रोकिन्छ ? उहाँले प्रश्न गर्नुभयो ।

केशवराज दर्जीले माईकाथान जाने सडकलाई सौतेनी व्यवहार गरिएको भन्दै सडक खन्दा गरिब निमुखालाई घरबार बिहीन बनाउने काम गरिएको गुनासो गर्नुभयो । लक्ष्यबहादुर पुनले सामुदायिक खानेपानीलाई नगरपालिकाले सहयोग नगर्दा कर्मचारी धान्न कठिन भएको दुखेसो गर्नुभयो भने टेकबहादुर रायमाझीले कतिपय योजनामा पहिलो फरफारक गरेर पछि मात्रै काम गरेको भन्दै प्रश्न उठाउनुभएको थियो ।

नौरुपी पुनले दुर्घटना बढि भएका कारण अकलादेवी मन्दिर बनाउन सहयोगका लागि आग्रह गर्नुभयो । स्थानीय सन्तबहादुर रायमाझीले खोलाखानीका लागि विनीयोजन भएको तीन लाख रुपैयाँ कता गयो भनि प्रश्न गर्नुभएको थियो । दयाराम शर्माले सडकमा गरेको लगानी बालुवामा पानी भएको गुनासो गर्नुभयो । उहाँले ठेकेदारलाई काम गराउने कुरामा नगरपालिकाले चासो नदेखाएको बताउनुभयो ।

ओमकार पौडेलले जैमिनीमा बाँदर पार्क जरुरी हो कि स्थानीयको शिक्षा, स्वास्थ्य र रोजगार जरुरी हो भनि प्रश्न गर्नुभएको थियो । दिलबहादुर श्रीसले एसइइमा शून्य ल्याएका विद्यालयको गुणस्तर सुधार गर्न के गरियो ?, भोजराज शर्मा पौडेलले बेलबगर पूर्ण गाउँ पर्यटकीय योजना नगरपालिकाकै कारण अलपत्र परेको भन्दै बाँदर पार्कका लागि विनीयोजन भएको २५ लाख कहाँ गयो भनि प्रश्न गर्नुभएको थियोभने दिलबहादुर दमैले आफ्नो घर नभएको भन्दै घरबासको व्यवस्था गरिदिन माग गर्नुभएको थियो ।

सार्वजनिक सुनवाईमा नागरिकले उठाएका प्रश्नको जवाफ दिदै जैमिनी नगर प्रमुख नरबहादुर पुनले आफुहरुले दीर्घकालिन योजना बनाएर योजना छनोट गर्ने चरणमा पुगेको बताउनुभयो । ‘अब मन लाग्दी योजनाको छनोट हुँदैन हामीले योजना बैंक बनाएर प्राथमिकताको आधारमा बजेट विनीयोजन गर्ने तयारी गरेका छौं,’ उहाँले भन्नुभयो,‘जैमिनी भित्रका सबै सडकको गुरुयोजना बनेको छ । त्यही अनुसार बजेट विनीयोजन हुन्छ ।’ जादुको छडि जस्तो विकास निर्माणको काम नभएको भन्दै उहाँले सबैको सहयोगबाट काम गर्दै जाँदा सफलता मिल्ने बताउनुभयो ।

नगरप्रमुख पुनले नागरिकका गुनासो र सुझावले भोलीका दिनमा काम गर्नका लागि प्रेरणा मिल्ने बताउनुभयो । उहाँले यो पटक भूगोल, जनसंख्या र राजस्वको आधारमा वडामा बजेट विनीयोजन गरिएको जानकारी दिनुभयो ।

नगर उपप्रमुख हरिहर शर्माले नागरिकको आवश्यकता र चाहाना बढि भएको तथा स्रोत र साधनको कमि भएकाले समस्या भैरहेको बताउनुभयो । ‘हामीसंग अनगिन्ती समस्या र आवश्यकता छन्, बजेट सिमिति छ, त्यही सिमित बजेटले काम गर्दा सबै काम गर्न नसकिएको र प्राथमिकताको आधारमा काम अगाडि बढाउनेछौं,’ उहाँले भन्नुभयो ।

जैमिनी नगरपालिका सुशासन समितिका संयोजक एवं वडा नम्बर २ का अध्यक्ष प्रेम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जैमिनी नगरपालिका—८ का अध्यक्ष बिमल श्रीसको स्वागत र पत्रकार तारानाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार नारायण रिजालले नागरिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोभने पत्रकार संगम घर्ति मगरले आचारसंहिता प्रस्तुत र पत्रकार प्रकाश बरालले टिप्पणी गर्नुभएको थियो ।