कालीगण्डकी नदीमा तोरण तारियो

बागलुङ, २७ कार्तिक । बागलुङको कालीगण्डकी नदीमा २५ वर्षपछि सामुहिक तोरण तारिएको छ । हरिबोधनी एकादशी मेला मेला व्यवस्थापन समिति बागलुङले मंगलबार बाबियो र कुशबाट बनाइएको १५० मिटर लामो तोरण कालीगण्डकी नदीमा तारेको हो । उक्त तोरण बागलुङ नगरपालिका–४ उपल्लाचौरको उपगौरी महिला समूहले बाटेको थियो भने पूजा र व्यवस्थापन एकादशी मेला व्यवस्थापन समितिले गरेको थियो ।

बागलुङमा २०५७ सालदेखि रोकिएको एकादशी मेला यस वर्षदेखि सुरु गरिएको हो । समितिले भजनकृर्तन, पञ्चेबाजा सहित बागलुङ बजारबाट कालीगण्डकी नदीमा लगेर तारेको हो । उक्त अबसरमा स्थानीय नागरिक, नेपाली सेना, सशष्त्र र नेपाल प्रहरीले तोरण तार्ने कामदेखि अन्य कार्यमा पनि साथ दिएका थिए ।

एकादशीको अवसरमा स्थानीयहरुले तयार पारेको १० लाख बढी दिप प्रज्वलन (लक्षबत्ति) कालीगण्डकी नदी किनारमा गरिएको समितिका अध्यक्ष रमेश राजभण्डारीले बताए । परम्परागत रुपमा एकादशी नुहाउन पनि कालीगण्डकी नदीमा सयौं मानिस पुगेका थिए । मेलालाई अबदेखि निरन्तरता दिने गरी प्रशासन र स्थानीयले सहमति गरेका छन् । समितिका अध्यक्ष राजभण्डारीले अब हरेक वर्ष फूलको डोली र तोरण तार्ने, भजन र पञ्चेबाजा लगायतका साँस्कृतिक नृत्य र झाँकी समेत प्रर्दशन गर्ने व्यवस्थापन गरिएको बताए । ‘एतिहासिक महत्वका पर्वलाई जीवन दिनुपर्छ भनेर पहल गरेका हौं,’ अध्यक्ष राजभण्डारीले भने,‘सवैले साथ र सहयोग गरेमा मेलाले जीवन पाउनेछ । एकादशी मेलालाई निरन्तरता दिन प्रशासनसँग सहमती गरेका छौं ।’

हिन्दुधर्ममा हरिबोधिनी एकादशीको ठूलो महत्व छ । असाढ शुक्ल एकादशीका दिन घरको माठमा रोपी पूजा सुरु गरिएको तुलसीको विवाह दामोदरसँग गरिदिने प्रचलन छ । एकादशीको दिन बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बस्छन् । तोरण तार्दा मानिसहरुले जानीनजानी गरेको पापबाट तर्ने विश्वास पनि गरिन्छ ।

एकादशीकै दिन बागलुङ नगरपालिका वडा नम्बर १ भगवती टोलको कालीका महिला समुहले कालीगण्डकीमा तोरण तारेको छ । यस्तै एकादशीको दिन कालीगण्डकी नदीको निरयघाट, मालढुंगा, जैमिनीधाम, बेलबगरमा पनि धेरै व्यक्तिहरुले तोरण तारेका छन् ।