बागलुङ, २६ कार्तिक । बागलुङको जैमिनी नगरपालिका–७ जैदीमा भएको जीप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ ।
सोमबार विहान जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको पीकअप भ्यान जैमिनी–७ जैदीको हर्देवा पाखाको भित्रि सडकमा दुर्घटना हुँदा पाँच जनाको घट्नास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा जैमिनी नगरपालिका–८ छिस्ती केवईका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँकी २० वर्षीय रश्मी श्रीस, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीस र ७५ वर्षीय कुल प्रसाद श्रीसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) विजय यादवले जानकारी दिए ।
दुर्घटनामा छिस्ती केवईकै ४५ वर्षीय गंगा बहादुर श्रीस घाईते भएका छन् । उनको शरिरको विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको डिएसपि यावदले बताए । घाईतेको जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको धौलागिरी अस्पतालमा उपचारको लागि ल्याइर्दै छ । जीप सडकदेखि ५ सय मिटर तल खसेको स्थानीयले बताए ।