काठमाडौं, १७ कार्तिक । अस्ट्रेलियाविरुद्धको द हङकङ सिक्सेसमा नेपाल विजयी भएको छ। शनिबार बिहान भएको खेलमा अस्ट्रेलियालाई नेपालले ११ रनले पराजित गरेको हो ।
नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा १०० रन मात्र बनायो । अस्ट्रेलियाका ज्याक वुडले सर्वाधिक ५५ रन बनाए भने एलेक्स रस १४ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका लागि प्रतिश जिसीले ३ विकेट, लोकेश बम र विवेक यादवले १/१ विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा २ विकेटको क्षतिमा १११ रन बनाएको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले अर्धसतक प्रहार गरेका थिए । उनले १६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रनले योगदान गरे । कप्तान जोरा रिटार्यट आउट भएपछि विवेक यादव क्रिजमा आएका हुन् ।
त्यसैगरी लोकेश बमले १३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३३ रनको योगदान गरे । त्यसैगरी विवेक यादवले १२ रन जोडे भने नारायण जोशीले १ रन र राशिद खानले १२ रनको योगदान गरे । अस्ट्रेलियाका ज्याक वुडले २ विकेट लिए ।
नेपालले शुक्रबार पहिलो खेलमा पुर्व विजेता इंग्ल्याण्डलाई पराजित गरेको थियो । इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा पूरा गरेको हो । नेपालले आज दिउँसो क्वाटरफाइनल खेल्नेछ । प्रतियोगितामा १२ टोलीको सहभागिता छन् ।