मुस्ताङमा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

सुन्दरकुमार थकाली
जोमसोम, २९ असोज । मुस्ताङमा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

जोमसोमबाट लेतेतर्फ जाँदै गरेको ना१च ७६९२ नम्बरको कार र बेनीबाट जोमसोमतर्फ आउँदै गरेको मोटरसाइकल घरपझोङ-२ मार्फा नजिकैकाे सडकमा मंगलबार साँझ ठोकिएको प्रहरीले जानकारी दिएको छ । घटनामा आरु चनौटे-९ गोरखाका मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय सञ्जय खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीका अनुसार काठमाडौंबाट अप्पर मुस्ताङको भ्रमणका लागि आउँदै गर्दा मोटरसाइकल चालक खड्काको कारसँग ठोकिएर मृत्यु भएको हो । दुर्घटनाबाट घाइते भएका खड्कालाई मुस्ताङ अस्पतालमा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक बोगटीले जानकारी दिए । दुर्घटनापछि प्रहरीले कार चालक सुन्दर ट्वाटीलाई नियन्त्रणमा लिएको छ ।