भीमापोखरा स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

खिम बहादुर कार्की
बागलुङ, २३ असोज । बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरामा नवनिर्मित स्वास्थ्य चौकी भवनको मंगलबार समुद्घाटन गरिएको छ ।

संघिय सरकार र गाउँपालिकाको सहकार्यमा निर्माण भएको एक वर्षपछि भवनको उद्घाटन गरिएको हो । भवनको उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले अहिले डेंगी रोगको संक्रमण बढीरहेको बताउँदै जोगिनको लागि सवैले ध्यान पु¥याउनुपर्ने बताउनुभयो । उहाँले डेंगी संक्रमण मंसिरसम्म बढ्ने हुँदा सवैले सजग हुनुपर्ने बताउनुभयो ।

मन्त्री पाठकले पछिल्लो समय नयाँ नयाँ रोगहरु देखापरेकोले नागरिकलाई बचाउन सरकार सचेत रहेको र नागरिक पनि सचेत रहनुपर्ने बताउनुभयो । उहाँले गोरखामा तरकारीमा विषादीको प्रयोग गर्दा किसानहरुलाई क्यान्सर र मिर्गौला फेल भएको रिपोर्ट आएको बताउँदै अहिले विषादयुक्त खाद्यपदार्थ प्रयोगले मानव जीवनको लागि घातक रहेको र विषादीरहित खाद्यपदार्थ र तरकारीहरु खाने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

मन्त्री पाठकले आफुले गर्ने कामहरुको कार्यसुचि तयार गरेको बताउनुभयो । उहाँले संघ र प्रदेशको स्वास्थ्य नीतिमा केन्द्रित रहेको कार्यसूचि निर्माण गरेको बताउँदै अहिले प्रदेशमा रहेको बजेटलाई पूर्ण रुपमा कार्यान्वयन गर्नको लागि केन्द्रित रहेको बताउनुभयो । उहाँले स्थानीय तहमा देखिएको स्वास्थ्य, भवन, दरबन्दी र दक्ष जनशक्तिको समस्याहरुको समाधान गर्नेगरी अब बजेट निर्माण गरिने बताउनुभयो ।

मन्त्री पाठकले अक्षेतेदेखि म्याग्दीसँग जोड्ने सडकलाई प्रदेश र संघिय सरकारबाट बजेट विनियोजित भएको बताउँदै उक्त रणनीतिक सडकमा आफुले पनि ध्यान दिने बताउनुभयो ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेज बहादुर थापा, गाउँपालिकाका संस्थापक अध्यक्ष अमर बहादुर थापा, नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्य, धवलागिरि बहुमुखी क्याम्पसका प्रध्यापक डाक्टर डिल्लीराज गौतम, भीमापोखराका पूर्व गाविस अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर हमाल, स्वास्थ्य चौकीका पूर्वप्रमुख विष्णुनाथ सापकोटा र नेकपा एमाले वडा कमिटी भीमापोखराका अध्यक्ष राजु गौतमले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

संघिय र स्थानीय तहको बजेटबाट आर्थिक वर्ष २०७७/०७८ मा १ करोड ६ लाख ७९ हजार ९ सय ३१ रुपैयाँ र २०७८/०७९ मा १ करोड ६८ लाख ८४ हजार ३ सय २२ रुपैयाँ गरी २ करोड ७५ लाख ६४ हजार २ सय ५३ रुपैयाँमा भवन निर्माण भएको थियो । भवन निर्माणापश्चात समयमै हस्तान्तरण नहुँदा नवनिर्मित भवनबाट सेवा सुचारु गर्न सकिएको थिएन । गतआर्थिक वर्ष २०८०/०८१ मा वडा कार्यालयले बजेट विनियोजित गरी स्वास्थ्य चौकीको फर्निचरहरु खरिद गरेर संचालनमा ल्याएको छ ।

उद्घाटन समारोहमा स्वास्थ्य चौकी व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु होम बहादुर हमाल, धिरेन्द्रराज पन्त, विष्णुप्रसाद ढकाल, विष्णुनाथ शर्मा पौडेल, नारायण रिजाल, पूर्व प्रमुखहरु खिम बहादुर विक, सोमराज पाण्डेय, विष्णुनाथ सापकोटा, नारायणप्रसाद पौडेल, दिया छन्त्याल, धुर्व केसी, इन्द्र बहादुर थापा र विद्यालक्ष्मी शर्मा तथा अहेब कुशी कुमारी उपाध्यायलाई सम्मान गरिएको थियो ।

काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका वडाअध्यक्ष एवं स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष विद्यापति शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका सदस्य गीता हमाल र संचालन वडाका कर्मचारी सुर्यबहादुर थापाले गर्नुभएको थियो ।

सच्चाईएकोः भवन निर्माण खर्च गलत भएकोले सच्चाइएको छ । यसबाट पाठकवर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्राथी छौं । –सम्पादक