देवकुमार नेपाली पुर्पक्षको लागि कारागार चलान

बागलुङ, १५ असाेज । सहकारी ठगी मुद्दाका आरोपि इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली पुर्पक्षको लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत बागलुङमा मंगलबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधिश रमेशकान्त अधिकारीको इजलाशले नेपालीलाई थुनामा राख्न आदेश दिएको हो । नेपालीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई भने एक लाख ५० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिइएको छ ।

सहकारी ठगीको आरोप लागेपछि फरार रहेका नेपालीलाई १६ महिना पछि गतशुक्रबार भारतको नयाँ दिल्लीमा पक्राउ गरिएको थियो । नेपाली र दर्जीलाई भारतबाट काठमाडौं ल्याइएर आईतबार हवाई मार्गहुँदै पोखरा ल्याईएपछि नेपाल प्रहरीले रातीनै सडकमार्गहुँदै बागलुङ ल्याएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार अदालतमा बयानको लागि लगेको थियो । सोमबार बयान सकिएपछि मंगलबार थुनछेक बहस भएको हो ।

इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा मात्र छन्भने पोखरा सिर्जनाचोकमा समेत इमेज सहकारी खोलिएको छ । २०८० बैशाख ७ गते सहकारीमा तरलता अभाव देखाएर सहकारी बन्द भएपछि जेठ ४ गतेदेखि सम्पर्कबिहीन भएका थिए । जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो । नेपालीविरुद्ध १ हजार ५ सय ४३ जना बचतकर्ताले रकम ठगीको आरोपमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते जिल्ला अदालतमा १ अर्ब ५४ करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर गरेको थियो । १२ माघ २०८० मा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीबिरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो ।

यो मुद्दामा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पनि पुर्पक्षको लागि कारागारमा रहेका छन् । उनीहरूलाई जिल्ला अदालत बागलुङको २०८० साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ । भण्डारी, बुढा र किसान साउन ५ गते नै थुनामा गएका थिएभने सोही आदेशकै आधारमा परियार र बुढामगर २०८१ पुस पहिलो साता पक्राउ परेर पुर्पक्षका लागि कारागारमा छन् ।