
बागलुङ, १४ असोज । बागलुङ नगरपालिकाले बजार क्षेत्रलाई सुन्दर बनाउनको लागि ‘क्लिन बागलुङ’ अभियान सुरु गरेको छ ।
नगरपालिकाले फोहोरको दिगो व्यवस्थापन गर्नको लागि क्लिन बागलुङ अभियान आईतबारदेखि संचालन गरेको छ । नगरपालिकाले कुहिने, पुनः प्रयोग गर्न मिल्ने र हानिकारक/पुनः प्रयोग गर्न नमिल्ने फोहोर छुट्टाछुट्टै राख्नको लागि बाल्टी वितरण गरेको छ ।
नगप्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङ नगपालिकाको नगर क्षेत्र वडा नम्बर १ रामरेखादेखि वडा नम्बर ४ भित्रका सवै घरमा बाल्टी वितरण गरिने बताए । उनले घर–घरमा उत्पादन हुने कुहिने, नकुहिने तनथा जोखिमयुक्त फोहोरलाई घर–घरबाटै छुट्टयाएर व्यवस्थापन गरिने बताए । ‘कुहिने, पुनःप्रयोग गर्न मिल्ने र हानिकारक/पुनः प्रयोग गर्न मिल्ने फोहोरलाई छुट्टाछुट्टै राख्नको लागि तीन वटा बाल्टी वितरण अभियान सुरु गरेका छौं,’ नगरप्रमुख श्रेष्ठले भन्नुभयो,‘क्लिन बागलुङको अभियानलाई कडाईको साथ लागु गरेर सुन्दर बागलुङ निर्माण बनाउन लागिपर्नेछौं ।’
नगरपालिकाले आईतबारदेखि उपभोक्ताहरुलाई बाल्टी वितरण सुरु गरेको छ । नगरप्रमुख श्रेष्ठले १० दिनभित्र वडा नम्बर १ देखि वडा नम्बर ४ सम्मका ५ हजार उपभोक्ताहरुलाई बाल्टी वितरण गरिने बताए । ‘५ हजार उपभोक्ताहरुलाई तीन थरी बाल्टी वितरण गर्दैछौं,’ नगरप्रमुख श्रेष्ठले भने,‘एक वटा बाल्टी उपभोक्ताले रु. ४५० मा खरिद गर्नुपर्छ । एक वटा बाल्टी खरिद गर्दा दुई वटा फ्रिमा उपलब्ध गराउछौं ।’ १५ हजार बाल्टी वितरणको लागि नगरपालिकाको जनशक्ति अपुग हुनेभएपछि नेपाली सेना, नेपाल प्रहरी र सशष्त्र प्रहरीबाट १०/१० जना जनशक्ती स्वयंसेवीको रुपमा खटाइने भएको छ ।’
नगरपालिकाले कुहिने फोरलाई सकेसम्म घरकै करेसाबारीमा प्रयोग गर्न सुझाव दिएको छ । ‘सकेसम्म कुहिने फोहोरलाई करेसाबारीमा प्रयोग गर्नुहोस् भनेका छौं,’ नगरप्रमुख श्रेष्ठले भने,‘करेसाबारीमा प्रयोग नगरे नगरपालिकाले पठाउने हरियो गाडीमा दिनुपर्नेछ । त्यसका लागि हरियो रंगकै बाल्टी घरघरमा दिइएको छ । नगरपालिकाले कुहिने फोहोरलाई नगरपालिकाले कम्पोष्ट मल बनाउने छ ।’ नगरपालिकाले कम्पोष्ट मल बनाउनको लागि वडा नम्बर ४ कुँडुलेमा जग्गा भाडामा लिइएको जनाएको छ ।
प्लाष्टिक र ओभानो कागज लगायतका नकुहिने फोहोर नगरपालिकाको निलो गाडीमा उठाउने भएको छ । त्यसको लागि निलो रंगको बाल्टी उपभोक्ताहरुलाई वितरण गरिएको छ । यस्तै नगरपालिकाले वितरण गरेको रातो बाल्टीमा फुटेका सिसा, अस्पतालजन्य फोहोर र विशेष विधिले मात्र सडाउनुपर्ने फोहोर संकलन हुने नगरप्रमुख श्रेष्ठले बताए । उनले निलो रंगको बाल्टीको फोहोर र रातो रंगको बाल्टीको फोहोर संकलनको लागि नगरपालिकाले सोही रंगका ट्रयाक्टर परिचालन गरेको बताए ।
नगरप्रमुख श्रेष्ठले फोहोर संकलनको लागि हरेक टोलमा दैनिक फरक फरक रंगको सवारी पठाइने बताए । नगरपालिकाले पुनः प्रयोग हुन सक्ने र प्रयोग हुन नसक्ने फोहोर वडा नम्बर १ को डम्पीङ्ग साइडमा फाल्ने र त्यसको उचित सदुपयोग गर्ने जनाएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा ‘क्लिन बागलुङ’ अभियानको लागि १ करोड रुपैयाँ बजेट विनियोजित गरेको छ ।