बागलुङ, ८ असोज । खुल्ला विद्यालय स्तरीय कबड्डी प्रतियोगिताको उपाधि छात्रतर्फ चिल्ड्रेन लाइफ इङ्गलिस् बोडिङ स्कुल र छात्रातर्फ कालिका कन्या मन्दिर माध्यमिक विद्यालयले जितेका छन् ।
जिल्ला कबड्डी संघ बागलुङको आयोजनामा भएको प्रतियोगितामा मंगलबार फाइनल खेलमा छात्रतर्फ चिल्ड्रेन लाईफले कालिका कन्या माध्यमिक विद्यालयलाई र छात्रातर्फ कालिका कन्या माध्यमिक विद्यालयले प्रिसियस एकेडेमीलाई पराजित उपाधि जितेको चुमेका हुन् ।
छात्रतर्फको विजेता चिल्ड्रेन लाईफले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्योभने उपविजेता कालिका कन्याले नगद १० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै छात्रतर्फको विजेता कालिका कन्याले नगद १० हजारसहित ट्रफी, मेडल र उपविजेता प्रिसियसले नगद ५ हजारसहित ट्रफी, मेडल प्राप्त गरेका छन् । सोमबारदेखि सुरु भएको प्रतियोगितामा छात्रतर्फ १४ विद्यालय र छात्रातर्फ १२ विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगिताका विजेता र उपविजेताहरुलाई गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी, पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य ताराप्रसाद शर्मा, जिल्ला कबड्डी संघ बागलुङका अध्यक्ष सन्दिप पन्तले पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सुवेदीले अध्ययनसंगै खेलकुद क्षेत्रमा पनि बिद्यार्थीहरुको उत्साह हुनुपर्ने बताउनुभयो ।
कार्यक्रम जिल्ला कबड्डी संघ बागलुङका अध्यक्ष सन्दिप पन्तको अध्यक्षता र सुरेन्द्र शाक्यको संचालनमा सम्पन्न भएको थियो ।