पोखरा फोटोग्राफी अवार्ड बागलुङका शाक्यलाई

राम थापा
गण्डकी, ३० भदौ । पोखरा फोटोग्राफर सङ्घले चौँथो ‘अशोक लाइफटाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड–२०८१’ बागलुङका अग्रज फोटोग्राफर मुकुन्द शाक्यलाई प्रदान गरेको छ । पोखरामा शनिबार आयोजित एक समारोहमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रु. २५ हजार पाँच सय ५५ राशिसहितको उक्त अवार्ड शाक्यलाई हस्तान्तरण गर्नुभएको हो ।

बागलुङ फोटोग्राफर सङ्घका सल्लाहकार रहनुभएका शाक्य झण्डै छ दशकदेखि फोटोग्राफी पेसामा सक्रिय हुनुहुन्छ । चित्रकारिता, साहित्य र संस्कृतिका क्षेत्रमासमेत विशिष्ट छवि बनाउनुभएका शाक्यलाई सङ्घले आफ्नो ४३औँ साधारणसभा तथा अधिवेशनका अवसरमा अवार्ड प्रदान गरेको हो । विसं २०२५ देखि फोटोग्राफी पेसा सुरु गर्नुभएका उहाँको अहिले पनि ‘शाक्य जेठा आर्टस् तथा फोटो सेवा’ सञ्चालनमा छ ।

पछिल्लो समय उहाँका छोरा मञ्जुल शाक्यले पनि उक्त पेसालाई अँगाल्दै आउनुभएको छ । सङ्घका सल्लाहकार दुर्गा पौडेलले पोखराका पुराना फोटो पत्रकार अशोक बाटाजूको स्मृृतिमा उक्त फोटोग्राफी अवार्ड स्थापना गरिएको जानकारी दिनुभयो । दुई वर्षको अन्तरमा उक्त अवार्ड प्रदान गर्ने गरिएको छ । “फोटोग्राफीलाई जीवनभर पेसाका रुपमा अँगाल्नुभएका अग्रज फोटोग्राफरहरुलाई यो अवार्ड प्रदान गर्ने गरिन्छ”, उहाँले भन्नुभयो ।

यसअघि तीन जना अग्रज फोटोग्राफरहरुले यो अवार्ड पाइसक्नुभएको छ । अवार्ड ग्रहणपछि शाक्ले आफ्नो पेसाप्रति गौरवबोध भएको बताउनुभयो । ‘यासिका बक्स टुइन्स लेन्स क्यामेरा’बाट आफूले फोटोग्राफी सुरु गरेको उहाँले बताउनुभयो । उहाँले राष्ट्रिय विभूति, नेता, कलाकार, प्रकृति आदिका तेलचित्र बनाई बिक्रीवितरणसमेत गर्दै आउनुभएको छ । बागलुङ नगरपालिका–३ निवासी शाक्यले तत्कालीन जिल्ला विकास समितिमा विभिन्न पदमा रही ३७ वर्ष सेवा पु¥याउनुभएको थियो ।