बागलुङ जिल्ला क्रिकेट संघको साधारणसभामा उत्कृष्ट खेलाडी सम्मान

बागलुङ, २८ भदौ । बागलुङ जिल्ला क्रिकेट संघले दोस्रो साधारणसभाको अवसरमा खेलाडी सम्मान गरेको छ । संघले शुक्रबार साधारणसभामा वर्ष उत्कृष्ट खेलाडी, नवप्रतिभा खेलाडी सम्मान र सिनियर खेलाडीलाई सम्मान गरेको हो ।

संघले वर्ष खेलाडी २०८० बाट विश्व कार्की, नवप्रतिभा खेलाडी सम्मान–२०८० बाट सचिन आचार्य, पुरुष क्रिकेट टिम बागलुङका कप्तान अनिश जि.सी., सिनियर खेलाडी सन्दिप पन्त र गणेश थापालाई सम्मान गरेको हो ।

साधारणसभाको अवसरमा बोल्दै बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले खेलकुद क्षेत्रको विकासका लागि खेल पूर्वाधार निर्माणमा स्थानीय तहले सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले जिल्ला क्रिकेट संघको योजनामा रहेको स्थानीय तहमा संघ गठन गर्ने र महिला खेलाडी उत्पादनमा बागलुङ नगरपालिकाले हातेमालो गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्ला क्रिकेट संघले पालिका स्तरमा क्रिकेट समिति गठन र महिला टिम गठनलाई आगामी वर्षको कार्ययोजनामा समावेश गरेको छ ।

उपप्रमुख खड्काले क्रिकेट खेलाडीलाई खेलप्रतिको लगावलाई जारी राख्न हौसला प्रदान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले नेपालमा पनि क्रिकेट खेलेर जिविकोपार्जन गर्न सक्ने वातावरण बन्दै गएको बताउनुभयो । सिग्देलले प्रतिभावान खेलाडि पलायन रोक्न नेपाल क्रिकेट संघ (क्यान) ले प्रदेशका खेलाडीहरुलाई मासिक तलब दिने व्यवस्था गरेर त्यसको शुरुवात गरेको बताउनुभयो । उहाँले क्यानको सहयोगमा दुई जना महिला र तीन जना पुरुष खेलाडीहरुलाई चाडै मासिक १५ हजारका दरले तलबको दिइने बताउनुभयो । खेलाडी टिकाउन आर्कषक तलबसंगै सुविधा सम्पन्न भौतिक पूर्वाधार, दक्ष प्राविधिकको चाहिने सिग्देलले बताउनुभयो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्का, मालिका सेवा समाजका अध्यक्ष जीवन शर्मा, अधिवक्ता हरिप्रसाद गौतम, खेलाडि जस्बिन थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।

संघका सदस्य अभिषेक कटुवालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सन्तोष शर्मा ‘प्रदिप’ले प्रस्तुत गरेको प्रतिवेदन साधारणबाट पारित भएको छ ।

जिल्ला क्रिकेट संघ बागलुङका अध्यक्ष विष्णु आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत सदस्य खिमबहादुर थापा र संचालन सदस्य गणेश महतोले गर्नुभएको थियो । संघले चालु आर्थिक वर्षमा प्रशिक्षण तथा विकास कार्यक्रम, जिल्ला तथा प्रदेश स्तरिय प्रतियोगिता र अन्तर जिल्ला मैत्रीपूर्ण खेल, क्रिकेट एकेडेमी संचालन तथा पूर्वाधार सुधारसंगै खेलाडी सदस्यता अभिलेखीकरण र परिचय वितरण गर्ने योजना बनाएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।