बागलुङ, २६ भदौ । बागलुङबाट संचालन भइरहेको बागलुङ पोस्ट अनलाईनले बुधबार पाँचौं बार्षिकोत्सवको अवसरमा नेपाली पत्रकारितामा ‘डिजिटल मिडिया’ बारे अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा बोल्ने वक्ताहरुले अनलाईन मिडियालाई व्यवस्थित गराउनुपर्नेमा जोड दिएका थिए । वक्ताहरुले भाइरल हुने, कसैको बदनाम गर्ने र भियोर्स बढाउने नाममा केही डिजिटल मिडियामा फेक समाचार आइरहेको बताउँदै सत्य समाचारमा केन्द्रित हुँदै पाठकहरुलाई फेक समाचारबाट बचाउनुपर्ने बताएका थिए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पत्रकारिताले निराशाजन समाचार मात्र प्रस्तुत नगरी उद्यमशिलताको समाचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय मिडियामा युवाहरु विदेशीरहेको जस्ता समाचारहरु आइरहेको बताउँदै केही युवा विदेशीय पनि गाउँ, घरमा अझै पनि धेरै युवाहरु उद्यमशिलतामा जोडिएकोले उनीहरुको सहयोगको लागि उद्यमशिलताका समाचार सम्प्रेषण गर्न सुझाव दिनुभयो ।
उपप्रमुख शर्माले गलत मनसाय राखेर सूचनाको हकको प्रयोग गर्दै सूचना माग्ने र बदनाम गराउने उद्देश्यीयले गलत तरिकाले सम्प्रेषण गर्ने गर्दा पत्रकारितामा जोखिम बढेको बताउनुभयो । ‘अहिले केही व्यक्तिहरुले सूचनाको हकको प्रयोग गर्दै स्थानीय तहमा सूचना माग्ने गरेका छन्,’ उपप्रमुख शर्माले भने,‘स्थानीय तहले गरेका राम्रो कामको समेत गलत व्याख्या गर्दै सामाजिक सञ्जालमा बदनाम गराउने उद्देश्यीयले पोष्ट हुने क्रम बढ्दो छ । यसले पत्रकारितालाई समेत समस्या बनाएको देखिन्छ । पत्रकारिताबाट सत्य र सकरात्मक समाचार सम्प्रेषण गर्दै गलत र फेक समाचारको अन्त्य गर्न सवै एकजुट हुनुपर्छ ।’
विज्ञापन एजेसीको गन्जागोलले स्थानीइ विज्ञापन बाहिर गइरहेको उपप्रमुख शर्माको भनाई छ । स्थानीय मिडिया संचालनको लागि स्थानीय तहहरुले सहयोग गर्नुपर्ने बताउँदै त्यसको लागि स्थानीय तह र मिडिया मिलेर समस्या सुल्झाउनुपर्ने बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष ज्ञानेन्द्र गौतम, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्वअध्यक्षहरु राम बहादुर जि।सी।, मुकेशचन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय राना, प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सचिव ताराप्रसाद शर्मा, प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङका अध्यक्ष सिर्जना पन्त, प्रेस युनियन बागलुङ शाखाका सचिव डम्मर बुढा, प्रेस सेन्टर बागलुङका सचिव अनिष खाती, गुहेली सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष खिम बहादुर कार्की, कान्तिपुर दैनिकका बागलुङ सम्वाददाता प्रकाश बराल, ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरा, स्तम्भकार यामबहादुर थापा लगायतले बोल्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा बागलुङ पोष्टका कार्यकारी सम्पादक संगम घर्ती मगरले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
बागलुङ पोस्टका प्रधान सम्पादक मनबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको स्वागत प्रवन्ध निर्देशक नवराज नेपाली र संचालन कार्यकारी सम्पादक संगम घर्ती मगरले गर्नुभएको थियो ।