बागलुङ, २५ भदौं । बागलुङमा आत्महत्याको दर बढ्दो रुपमा रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
बागलुङमा तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा आत्महत्याको दर बढिरहेको देखिएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३७ जना र आ.व. २०७९/०८० मा ४५ जनाले आत्महत्या गरेका छन् । यस्तै गत आर्थिक वर्ष २०८०/०८१ मा ६० जनाले आत्महत्या गरेको तथ्याङ्क छ ।
बागलुङमा किशोर अवस्था र प्रौढ अवस्थाकाले बढी आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कमा देखिन्छ । गत आर्थिक वर्षमा १६ वर्ष कम उमेरका १० जना, १६ देखि ३५ वर्ष उमेरका १४ जना, २६ देखि ३५ वर्ष उमेरका ४ जना, ३६ देखि ४५ वर्ष उमेरका ५ जना, ४६ वर्षदेखि ६० वर्ष उमेरका ११ जना र ६० वर्षमाथिका ९ जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । आत्महत्या गर्नेमा पुरुषको संख्या भन्दा महिलाको संख्या बढी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।
बागलुङ नगरपालिकामा धेरै आत्महत्याको घटना घटेको प्रनि पौडेलले बताए । उनले गत आवमा बागलुङमा २० जनाले आत्महत्या गरेका छन्भने जैमिनी नगरपालिकामा ३ जना, गल्कोट नगरपालिकामा ७ जना, काठेखोला गाउँपालिकामा ३ जना, बरेङ गाउँपालिकामा ५ जना, बडिगाड गाउँपालिकामा ७ जना, तमानखोला गाउँपालिकामा १ जना र निसीखोला गाउँपालिकामा ८ जनाले आत्महत्या गरेको तथ्याङ्क रहेको बताए । यस्तै बैशाख महिनामा बागलुङमा धेरै आत्महत्याका घटना घटेको प्रहरीको रिपोर्ट छ । गतआवमा बैशाख महिनामा १० जना, जेठमा ५ जना, श्रावणमा १ जना, भाद्रमा ९ जना, असोजमा २ जना, कार्तिकमा २ जना, मंसिरमा ४ जना, पुषमा ९ जना, माघमा ६ जना र फाल्गुणमा ५ जनाले आत्महत्या गरेका छन् ।
नेपालमा कोभिड १९ र महाभूकम्प पश्चात आत्महत्याको दर बढेको तथ्याङ्कमा देखिन्छ । नेपालमा वर्षेनी १४ प्रतिशतका दरले आत्महत्याका घटना बढीरहेको प्रनि पौडेलको भनाई छ ।
प्रनि पौडेलले आत्महत्याको पछाडी मनोरोग (डिप्रेसन), मादक पदार्थ तथा लागुऔषधका दुव्र्यसनी, विगतमा आत्महत्याको प्रयास गरेको परिवारको इतिहास, आत्महत्या गर्न सहयोग पु¥याउने साधनहरुको सहज पहुँच, एक्लोपन तथा आफन्त वा आफ्नो प्रिय बस्तु गुमाउनु र दीर्घ रोगको कारण रहेको बताए । उनले आत्महत्या गर्न सहयोग पुग्ने विषादी (विष हुने पदार्थहरु) विक्री वितरण गर्दा सोधखोज गरेर मात्र वितरण गर्नुपर्ने बताए ।
आत्महत्या गर्न अनेक प्रकारका भ्रमहरु देखिएको बताउँदै बाँचेमा संसार देखिन्छ भन्ने धारणा सवैलाई गराउनुपर्ने प्रनि पौडेलको भनाई छ । उनले किशोर अवस्थामा घरायसी विवाद, प्रेम असफलता, पढाईमा असफलता कारणले बढी आत्महत्या गरेको हुनसक्ने बताए । ‘१६ वर्षदेखि २५ वर्ष टिनएजको उमेर हो,’ प्रनि पौडेलले भने,‘यो उमेर विद्यालय तथा कलेजको समय भएको कारण किशोर अवस्थामा प्रेम, साथीसङ्गीहरुको कारण र उक्त समयमा बढी भावुक र इमोसनल हुने भएकाले आत्महत्या गर्नेै गरिएको अनुसन्धानबाट देखिन्छ ।’
यस्तै ३६ वर्षदेखि ४६ वर्ष उमेर प्रौड उमेरमा डिप्रेसन, फ्रस्टेसन अनि आर्थिक कारण हुनसक्ने प्रनि पौडेलको भनाइ छ । उनले भने,‘प्रौड उमेरमा आर्थिक संकट, व्यवहारिक रुपमा कठिनाई बढी, बैबाहिक समस्या तथा श्रीमानश्रीमती विदेशमा पैसा कमाउने र यता श्रीमान वा श्रीमती अर्को तिर प्रेम सम्बन्धमा रहेको आशंकाले होकी भन्ने हाम्रो आकंलन छ ।’
उनले सामाजिक सञ्जालबाट हुने अनावश्यक सुचनाहरुले पनि आत्महत्या बढाएको बताए । ‘सामाजिक सञ्जालमा अनावश्यक सूचनाहरु आउँदा त्यो आफ्नो परिवारमा पनि लागु भएको होकी भन्ने आशंकाले पनि आत्महत्या गरेको देखिन्छ,’ प्रनि पौडेलले भने,‘देखासिकी, असफलता र सानो कुरा पनि सहन नसक्ने प्रवृत्तिले व्यक्तिलाई आत्महत्याको अवस्थामा पु¥याउने गरेको छ । अहिले यसमा समाजिक सञ्जाल तथा प्रविधि पनि थपिएको छ ।’
आत्महत्या न्यूनिकरणको लागि स्वास्थ्य संस्था, स्थानीय तहहरु, सरोकारवालाहरु, राजनीतिक दलहरु, समाजसेवीहरु, सरकारी तथा गैरसरकारी संस्थाहरुले सहयोग गर्नुपर्ने प्रनि पौडेलको भनाई छ । उनले समाजको महिला समुह तथा क्लबहरु पनि आत्महत्या गर्नु हुँदैन भन्ने सन्देश दिँदै रोकथाम तथा न्यूनिकरणमा सहयोग गर्नुपर्ने बताए ।
आत्महत्याको पछाडी मुख्यतया मनोरोग अर्थात् डिप्रेसन नै कारक भएकोले बेलैमा पहिचान गरेर उपचार गर्ने हो भने रोकथाम गर्न सकिने प्रनि पौडेलको भनाई छ । त्यसको लागि स्थानीय तहमा रहेका मनोचिकित्सक र स्वास्थ्यकर्मीहरुले भुमिका खेल्नुपर्ने पौडेलले बताए ।