सुजन रेग्मी
बागलुङ, २४ भदौं । चाडपर्वमा यात्रुको सुरक्षित आवागमनलाई मध्यनजर गर्दै बागलुङमा सवारी साधनको अनुगमन सुरु गरिएको छ ।
चाडपर्वका समयमा हुने सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर गरी सोमबार जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका वडा नम्बर ३ रातमाटा र काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराको अक्षेते बजार र बागलुङ नगरपालिका ३ को सुलडाँडामा सार्वजनिक सवारी साधनको जाँच र अनुगमन गरिएको हो । सवारी चालकले चालक अनुमति पत्र साथमा राखे/नराखेको, सवारी साधनको बिलबूक साथमै राखे/नराखेको, जाँचपास पत्र बोके/नबोकेको, यात्रुवाहक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राखे/नराखेको, भीडभाड गरे/नगरेको, बढी भाडा लिए/नलिएको, जस्ता विषयमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।
सोमबार ३२ वटा सवारी साधनको अनुगमन गरिएको यातायात कार्यालय बागलुङका प्रमुख गोमा देवि शर्माले जानकारी दिनुभयो । उहाँले नियम उलंघन गर्ने २३ वटा सवारी साधनलाई कारवाही गरिएको बताउनुभयो । ‘३२ वटा सवारी साधनको अनुगमन गरेका थियौं,’ प्रमुख शर्माले भन्नुभयो,‘नियम उल्लंघन गर्ने २३ वटा सवारी साधनलाई कारवाही स्वरुप जरिवाना गरेका छौं । कारवाहीमा पर्नेमा २२ वटा पिकअप जीप, ६ वटा अटोरिक्सा र ४ वटा मोटरसाइकल छन् ।’
अनुगमनको क्रममा सवारी साधन चालकहरुलाई सवारी तथा ट्राफिक नियमको पालना गर्न अनुरोध गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी बरालले अनुमगनलाई निरन्तरता दिइने बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालको नेतृत्वमा भएको अनुगमनमा यातायात कार्यालय बागलुङका प्रमुख गोमा देवि शर्मा, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, ट्राफिक प्रहरी, नेपाल प्रहरी िर पत्रकारको सहभागीता रहेको थियो ।