विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता भोलीदेखि

बागलुङ, १३ भाद्र । तेस्रो संस्करणको अन्तर विद्यालय (माध्यमिक) स्तरिय बास्केटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजक सिद्धार्थ शिक्षा सदन बागलुङले पत्रकार सम्मेलन गरि ट्रफी सार्वजनिक गरेको हो । जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्का र विद्यालयका प्रिन्सिपल भोजेन्द्र थापाले संयुक्त रुपमा ट्रफी सार्वजनिक गर्नुभएको थियो ।

प्रतियोगितामा बागलुङ र पर्वतका संस्थागत र सामुदायिक गरी १२ विद्यालयका १३ टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापक भोजेन्द्र थापाले जानकारी दिनुभयो । यस्तै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट खेलाडी, हाइस्कोर र प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्न ५० हजार रुपैयाँ खर्च लाग्ने जनाईएको छ । कार्यक्रममा बोल्दै खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले राज्यको खेलकुद नीति र वनको ऐन नियमले बाङ्गेचौर खेल मैदानमा पूर्वाधार निर्माणको काम हुन नसकेको बताए । उनले हाल मैदानमा दुबो रोप्ने काम भएकोले केही समय मैदान बन्द गरिएको जानकारी दिए । अध्यक्ष खड्काले खेलकुदलाई बजेटमै विभेद गरिने उनको भनाई थियो ।

किशोरकिशोरीहरुलाई खेल क्षेत्रमा प्रोत्साहन गर्दै राज्यलाई स्वस्थ खेलाडी प्रदान गर्ने उदेश्यले विद्यालयले हरेक वर्ष खेलकुद गतिविधिलाई प्राथमिकता दिँदै आएको प्रधानाध्यापक थापाले बताए ।

ट्रफि सार्वजनिक कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोभने विद्यालयका शिक्षक नगेन्द्र मल्लले संचालन गर्नुभएको थियो ।

शुक्रबार र शनिबार संचालन हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक सिद्वार्थ निलो र चिल्ड्रन लाइफ इङ्गलिस बोर्डिङ्ग स्कुलबीच हुनेछ ।