बागलुङमा हनुमान नाँच प्रदर्शन सुरु

बागलुङ, ११ भदौ । बागलुङमा ९ वर्षपछि विधिवत रुपमा हनुमान नाँच प्रदर्शन शुरु भएको छ ।

करिव तीन सय वर्ष पहिले भक्तपुरबाट बागलुङ आएका नेवारी समुदायले निकाल्दै आएको हनुमान नाँच मंगलबार विधिवत रुपमा प्रदर्शन गरियो । २०४६ सालमा गठन भएको हनुमान नाँच संरक्षण परिषदले हरेक बिजोर वर्षमा नाँच देखाएर निरन्तरता दिएको थियो । तीन वा पाँच वर्षमा विधिवत रुपमा देखाइदै आएको नाँच २०७२ सालपछि भने कोरोना भाइरस संक्रमण र विविध कारणले रोकिएको थियो ।

मंगलबार बिहान बागलुङ नगरपालिका वडा नम्बर ३ को नारायण चोकमा नचरीको पुजा र हनुमान पौवामा हनुमानको पुजा गरेपछि नाँचको सुरुवात गरिएको थियो । हनुमान पौवाबाट मुख्य पुजारीले उल्टो हिडेर वडा नम्बर ४ उपल्लाचौरमा रहेको राम मन्दिरमा पुगेर पुजा गरेका थिए । मुख्य पुजारीले मुर्ति समातेर उल्टो हिडेर नाच सहित बजार परिक्रमा गराइएको थियो ।

हनुमान नाँचका लागि १० लाख खर्च हुने अनुमान छ । त्यसका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटाइएको प्रधान कजी इश्वर मलेपतिले बताए । परम्परा अनुसार हरेक बिजोर वर्षमा मात्र हनुमान नाँच औपचारिक रुपमा देखाउन पाइन्छ । मेला महोत्सवमा देखाउने नाँच भने संस्कृतिको रुपमा मात्रै देखाइएको हो । त्यसका लागि आवस्यक पुजाआजा गरिदैन । हनुमान नाँच्ने युवाले ब्रम्हचार्यमा बस्नुपर्ने व्यवस्था छ ।

आगामी चैत मसान्तसम्म यो नाँचलाई विभिन्न स्थानमा लगेर देखाइने छ । टोलबासीले नाँच प्रदर्शनको लागि आग्रह गरेपछि मंगलबार, बिहिबार र शनिबार मात्र प्रदर्शन गरिने हनुमान नाँच संरक्षण परिषदका सचिव जय राजभण्डारीले बताए ।