बागलुङ, २२ साउन । बागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ ।
बडिगाडको वडा नम्बर १० मा ६ जना र वडा नम्बर ९ मा दुई जना गरी आठ जनाको मृत्यु भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए । बरालले वडा नम्बर १० मा ७ वर्षीया मालती बुढा, मधु बुढा, मन्जु विकको ६ महिनाको छोरी, अन्दाजी १२÷१३ बर्षीय मनोज बुढा, अमन बुढा र ५९ बर्षीय मैतीदेवी विकको मृत्यु भएको हो ।
यसैगरी चार जना घाईते भएका छन् । वडा नम्बर १० का ४६ बर्षीया संगीता बुढा, ५९ बर्षीया सुमित्रा विक, ३२ बर्षीया सीता थापा र ४२ बर्षीय मंगलसिंह बुढा घाईते भएका छन् । घाइतेहरुलाई उद्धार गर्न हेलिकोप्टर पठाउन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए ।
यसैगरी पहिरोले पुरिएर बडिगाड गाउँपालिका वडा नम्बर ९ मा १५ वर्षीय विधान परियार र गंगा बस्नेतको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक र बडीगाड गाउँपालिकाको उपाध्यक्ष लगायतको टोली घटनास्थल जाँदै गरेको जनाइएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।