
बागलुङ, २२ साउन ।बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ९ नयाँबस्तिमा पहिरोले पुरिएर एक बालकको मृत्यु भएको छ । बर्षासँगै मंगलबार दिउँसो घरमाथीबाट आएको पहिरोमा पुरिएर १४ बर्षिय विधान परयारको मृत्यु भएको वडाअध्यक्ष कृष्ण बहादुर के.सी.ले बताए ।
उनको शव पोष्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिँदै छ । सोमबार रातीदेखि बागलुङमा अविरल वर्षा भएको छ । वर्षासँगै सोमबार राती पहिरो जाँदा वडा नम्बर ९ मा २ भन्दा बढी घरहरु बगाएको र उद्धारमा कठिन भइरहेको वडाअध्यक्ष केसीले बताए ।
बडिगाड गाउँपालिकाकै वडा नम्बर १० दर्लिङमा पहिरोले तीन घर पुरेको छ । वडाअध्यक्ष विरेन्द्र बुढाका अनुसार क्वाल्जिङमा लालबहादुर परियारको घर बगाएको र परियारलाई घाईते अवस्थामा उद्धार गरिएको छ । भौगोलिक रुपमा निकै विकट भएकोले उद्धारमा कठिन भएको र इलाका प्रहरी कार्यालय भिमगिठे तथा बुर्तिवाङको टोली घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जानकारी दिएको छ ।