शिक्षक फुटसलको उपाधि फ्युचर ब्राइटरलाई

बागलुङ, २० साउन । तेस्रो अन्तर विद्यालयस्तरिय शिक्षक फुटसल प्रतियोगिताको उपाधि फ्युचर ब्राइटर माध्यमिक विद्यालयले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा फ्युचरले सिदार्थ शिक्षा सदनलाई ५–४ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको सुरुवाती अग्रता सिदार्थले लिएपनि पहिलो हाफमा फ्युचरले उत्कृष्ट पुनरागमन गर्दै २–१ को अग्रता लिएको थियो । दोस्रो हाफको सुरुवातदेखि फ्युचरले अग्रता बढाएपनि सिदार्थले गोल गर्दै खेलमा फर्किने सम्भावना देखाएपनि अन्तिममा ५–४ को हार बेहोर्दै उपविजेतामा चित्त बुझाएको छ ।

विजेता बनेको फ्युचरले नगद १७ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छभने उपविजेता सिदार्थले नगद १२ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलको आयोजना र चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको सहआयोजनामा शुक्रबारदेखि प्रतियोगिता संचालन भएको थियो ।

प्रतियोगितामा शनिबार नै सम्पन्न सेमिफाइनल खेलमा फ्युचरले न्यू ओयसिस एकेडेमीलाई र सिदार्थले आयोजक चिल्ड्रेन लाईफलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।

११ विद्यालयका १२ टिमको सहभागिता रहेको प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्याब्सन बागलुङका अध्यक्ष दल थापा, चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

विद्यालयका शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको प्रतियोगितामा पहिलो चरणका खेलहरु शुक्रबार र सेमिफाइनल र फाइनल खेल शनिवार सम्पन्न भएका हुन् ।