राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : दाहाल र शर्माले आज उम्मेदवारी दर्ता गर्ने

काठमाडौं, २८ फागुन । राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आज बिहान ११ बजेदेखि १ बजेसम्म ल्होत्से हलमा उम्मेदवारी दर्ता हुने कार्यतालिका छ ।

उनका अनुसार दिउँसो १:३० बजे दर्ता भएका प्रस्तावको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन हुनेछ। मंगलबार हुने राष्ट्रियसभा अध्यक्षको लागि सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गर्दैछन्।

आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने निर्णय गरेको माओवादी नेता चक्रपाणी खनालले जानकारी दिए। दाहाल माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाई हुन्। दाहाल २०७८ सालमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए ।

एमाले नेतृत्वमा नयाँ राजनीतिक समीकरण बनेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रिय सभाका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार र उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको थियो। गत सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच भएको आठ बुँदे सहमतिको दोस्रो बुँदामा राष्ट्रिय सभाको भागबण्डाको विषय टुंगो लगाएको हो ।

कांग्रेसबाट यसअघि नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने प्रस्तावसहित कांग्रेसले राष्ट्रियसभा सदस्य बनाएको थियो। तर, प्रधानमन्त्री दाहालले कांग्रेससँगको समीकरण तोडेर एमालेसँग जोडिएपछि सिटौलालाई नदिई कांग्रेस संसदीय दलको बैठकले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। ७४ वर्षीय शर्मा बाँके जिल्लाका हुन्। ४५ सालमै पार्टीको बाँके सभापति भएर काम गरेका उनी ०२८ सालमा पार्टी सभापति शेरबहादुर देउवा नेविसंघको सभापति हुँदा उपाध्यक्ष थिए। निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here