
बागलुङ, २३ फागुन । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले जात र धर्मको नाममा घ्रिणा फैलाउने कोशिष भइरहको बताउनुभएको छ । बागलुङ जिल्लाको बागलुङ नगरपालिका–६ स्थित प्रसिद्ध धार्मिकस्थल सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्रम्हाण्डीय महायज्ञमा बुधबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले जात र धर्मको नाममा साम्प्रदायिकता फैलाएर हामी माझ परस्परमा घ्रिणा फैलाउने कोशिष भइरहको बताउँदै सचेत हुनुपर्ने बताए ।
उनले विश्वका केही देशमा धर्मका नाममा एकआपसमा काटाकाट गर्ने, देश टुक्राउने र देश बाँड्ने गरेको बताउँदै नेपालीहरुले त्यसो नगर्ने बताए । ‘धर्मको नाममा एकआपसमा काटाकाट गर्छन, देश टुक्राउँछन्, देश बाँडछन्’ अध्यक्ष ओलीले भने,‘हामी नेपालीहरु धर्मका नाममा काटाकाट गर्दैनौं, देश टुक्राउँदैनौं, देश बाँड्दैनौं ।’ उनले एकअर्कालाई घ्रिणा गर्ने कार्य धर्म नभएको बताए । ‘एकअर्कालाई घ्रिणा गर्ने, एकअर्कालाई होचाउने यस्ता खालका कामहरु नेपाली गर्दैनन् किनभने त्यो धर्म होइन,’ उनले भने ।
पूर्वप्रधानमन्त्री ओलीले पञ्चकोट धार्मिक पर्यटकीयस्थलको रुपमा देश विदेशमा परिचित रहेको बताउँदै पूर्वाधार निर्माण गरेर मुलुककै मुख्य धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्नुपर्ने बताए । उनले १० वर्ष पहिले पञ्चकोटमा आएको स्मरण गर्दै उक्त समयमा पूर्वधार निर्माणको लागि १० करोड रुपैयाँ विनियोजित गरेको समेत बताए । ‘म प्रधानमन्त्री हुने समयमा १० करोड रुपैयाँ विनियोजित गरेको थिए,’उनले भने,‘विनियोजित भएको रकम नआएको भए ढिलोचाडो आउँछ । धार्मिक संस्थाको पूर्वाधार निर्माणको लागि विनियोजित गरेको रकम के कति कारणले रोकियो । त्यो रोकिनु हुँदैन ।’
उनले महायज्ञ लगायतका धार्मिक कार्यक्रमले समाजलाई सामाजिक सद्भाव कायम राख्न, अनुशासित समाजको निर्माण, सभ्य र सुसंस्कारयुक्त समाज निर्माण गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले महायज्ञको आयोजना गरेर पञ्चकोटलाई देश विदेशमा परिचित गराउन भुमिका खेलेको भन्दै प्रशंसा गरेका थिए । उनले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा आफुले अगाडी सारेपनि महायज्ञ मार्फत विश्वकै शान्ती र समृद्धिको मुद्धा उठाइएकोमा खुसी व्यक्त गरे ।
जल र ब्रह्माण्ड बचाउन सन्देश दिने र विश्वशान्ती कलश निर्माणको लागि फागुन ९ गतेदेखि पञ्चकोटमा संचालन भएको अनन्तश्री ब्रह्माण्डीय महायज्ञ बुधबार सम्पन्न भएको छ । पाठ लगायतका कार्यहरु सम्पन्न भएपनि हवन लगायतका कार्यहरु नियमित हुँदै जाने अनन्तश्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)ले बताए । उनकै अगुवाईमा संचालन भएको महायज्ञमा यस पटक देश विकासका बारेमा दैनिक फरक–फरक विषयमा सम्मेलन समेत भएका थिए । यस्तै १५ दिन संचालित महायज्ञमा २५ फिट अग्लो मौलोलाई २१ हजार कर्ताले २१ हजार ५ सय ५५ क्विन्टल धान अर्पण गरेर पुरिएको छ । महायज्ञमा नेपालको काठमाडौं, चितवन, तनहुँ, भैरहवा लगायतका जिल्लाका साथै भारतबाट समेत भक्तजनहरु उपस्थित भएका थिए ।










